धनकुटा/ आर्थिक अभावका कारण उपचार गर्न नसकी पाठेघरसम्बन्धी जटिल रोगले थलिएकी धनकुटाकी असारमाया राईलाई उपचारपछि मङ्गलबार धनकुटाको मूलघाटस्थित वृद्धाश्रममा राखिएको छ ।

धनकुटा साँगुरीगढी गाउँपालिका–४ उखु डाँडाकी ६५ वर्षीया राईको गत कार्तिकमा धनकुटा अस्पतालमा सञ्चालित शल्यक्रिया स्वास्थ्य शिविरमा पाठेघरको निःशुल्क उपचार गरिएको थियो ।

शल्यक्रियापछि एक महिनासम्म जिल्ला अस्पताल धनकुटाको निगरानीमा राखेर उनलाई मूलघाटस्थित वृद्धाश्रममा बसोबासको व्यवस्था मिलाइएको शिविर व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक तथा समाजसेवी रोशेष श्रेष्ठले बताए ।

असारमायाले लेउतीखोलाको किनारमा सानो छाप्रोमा बसी बालुवा चालेर गुजारा गर्दै आएकी थिइन् । उनीलाई संरक्षण गर्ने सन्तान र आफन्त सम्पर्कमा नरहेकाले विश्रान्ति वृद्धाश्रममा राखिएको नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाईंले बताए ।

सहाराविहीन राईलाई सोमबार वृद्धाश्रम व्यवस्थापक कमला शर्माको जिम्मा लगाइएको शिविर व्यवस्थापन तथा सञ्चालन समितिका सचिव विजयसन्तोषी राईले बताए ।

वृद्धा राईले नयाँ जीवन पाएको नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष तथा शिविर प्रचार–प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए ।

राईले खुशी हुँदै भनिन्, ‘तपाईहरूको सहयोगबाट मैले उपचारपछि नयाँ जीवन पाएको छु ।’ धनकुटाको जितपुरमा रहेका राईका श्रीमान् फेदाङ्मा र एक छोरी भए पनि सम्पर्कमा नरहेको बताइएको छ ।