पाँचथर/ तेस्रो उद्योग दिवसको अवसरमा आइतबार जिल्लाका चार जना घरेलु उद्यमी सम्मानित भएका छन् ।

उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले सिर्जनशील ढाका कपडा उद्योगकी सञ्चालिका योगिता सम्बाहाम्फे, याक्थुङ ढाका कपडा उद्योगकी सञ्चालिका दिलकुमारी फागो, लक्की ब्युटी पार्लरकी सञ्चालिका लक्की सुजी र लेकाली हाते कागज उद्योगका सञ्चालक रमेश थापामगरलाई सम्मानित गरेको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले सम्मान–पत्रसहित जनही पाँचहजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरे ।

जिल्लामा घरेलु तथा साना उद्योगमार्फत् व्यवसाय प्रवद्र्धन गर्न र रोजगारी सिर्जना गर्न योगदान गरेकाले उनीहरूलाई सम्मान गरेको घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका प्रमुख वरिष्ठ उद्योग अधिकृत ईश्वरी अधिकारीले बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित बैङ्कका शाखा प्रबन्धक र उद्यमी, व्यवसायीबीच अन्तरक्रियासमेत सम्पन्न भएको थियो ।