पथरी/ कानेपोखरी गाउँपालिकाले विकासकोे लागि विनियोजित सङ्घीय र प्रदेशको बजेट विभिन्न वडाको योजनामा छुट्याएको छ ।

क्षेत्र नं. ३ अन्तर्गत सङ्घीय सांसद् बजेट कानेपोखरी गाउँपालिकालाई १ करोड छुट्टिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकालाई १ करोडको दरले बजेट छुट्याएको थियो ।

छुट्टिएको बजेट कानेपोखरी गाउँपालिकाले शुक्रबारे–बिहीबारे–हरकपुर जोड्ने कृषिमार्गलाई ५० लाख, कानेपोखरी–जहदा–भौंसाबारी सडकलाई ४० हजार र बयरवन स्वास्थ चौकीलाई १० लाख छुट्याएको छ ।

शुक्रबारे–बिहिबारे–हरकपुर जोड्ने कृषिमार्गमा यसअघि वडा नं. ७ ले गत आर्थिक वर्षको बजेटले शुक्रबारेबाट कालोपत्रेको शुरुवात गरेको छ ।

सो सडक मोरङ क्षेत्र नं. ३ अन्तर्गत गाउँपालिकाको ७, ६ र ४ गरेर ३ वटा वडा भएर क्षेत्र नं. २ को सिमानामा पुग्नेछ । अबको ३ वर्षमा सो सडकलाई सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

क्षेत्र नं. ३ अन्तर्गत कानेपोखरी गाउँपालिकाको वडा नं. २, ४, ५, ६ र ७ पर्दछ ।

सो क्षेत्रमा पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण कषिमार्ग शुक्रबारे, बिहीबारे, पिङडाँडा, प्रगतिचौक र नारायणचौक हुँदै पश्चिम बयरवन बजार, कालीस्थान हुँदै भौंसाबारी, जहदा हुँदै कानेपोखरी चौक रिङरोड बनाएर टुङ्ग्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।