झापा/ कमलखोलाको बाढीले घर बगाएर बिचल्लीमा परेका परिवारलाई कारितास र अभियान नेपालले घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

कमल गाउँपालिका–२ का ११ घर परिवारलाई कारितास र अभियान नेपालले घर निर्माण सम्पन्न गरी शनिबार हस्तान्तरण गरेको हो ।

कारितास, अभियान नेपाल र गाउँपालिकाकोे संयुक्त साझेदारीमा ‘नेपाल बाढी प्रतिकार्य तथा शीघ्र पुनर्लाभ परियोजना’ सञ्चालन भएको थियो ।

परियोजनाले निर्माण सम्पन्न गरेका ११ वटै घर आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले स्थानीयलाई हस्तान्तरण गरे ।

०७४ साल साउन २७ गते कमलखोलामा आएको बाढीले २ नं. वडाका १२ परिवारको उठीबास गराएको थियो ।

कार्यक्रममा कारितास नेपालका कार्यक्रम प्रबन्धक देवेन्द्र पोखरेलले कारितास र अभियान नेपालको साझेदारीमा सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए ।

बस्ती निर्माण समितिका संयोजक प्रताप सुब्बाले बाढीले बगाएको बस्ती निर्माणका लागि एनआरएल अन्सु थापाले १ लाख ७६ हजार, गाउँपालिकाले ९ घर परिवारलाई २५ हजारका दरले २ लाख २५ हजार, लुथरनले १२ घरलाई २० हजारका दरले २ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको र टीडब्लूआरले १२ हजार थान ब्लक इँट्टा प्रदान गरेको पनि जानकारी दिए ।

अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले परियोजनाको प्रतिवेदन प्रस्तुत गर्दै साझेदारीमा विभिन्न क्षेत्रमा गरी एक करोड २२ लाख ३९ हजार ९४ रुपैयाँ बराबर रकम खर्च भएको जानकारी दिए ।