बिर्तामोड/ पूर्वको प्रसिद्ध अर्जुनधारा जलेश्वर धाममा मङ्सिर ११ गतेदेखि ३६ औं अनुष्ठान स्वरूप भविष्य महापुराण लगाइने भएको छ ।

धाम विकास समितिले आइतबार पत्रकार सम्मेलन गर्र्दै महापुराण लगाइने जनाएको हो ।

भागवत् भूषण कौशिक दिनेश ढुङ्गानाको प्रमुख वाचकत्वमा हुने महापुराणमा चिरञ्जीवी ढुङ्गाना उपवाचक रहने धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

नवाह महापुराणभरि ३ लाख भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको उनले बताए । महापुराणको अवधिमा महाभारतकालीन घटनाक्रम तथा धामको उत्पत्तिबारे विद्युतीय प्रदर्शनी, धामको मूल पोखरीभित्र सङ्गीतमय फोहोराको स्थापना, शनिश्चरे चोकबाट धामसम्म विद्युतीय गेट, रमाइलो धार्मिक मेला, गङ्गा आरती यसवर्षको प्रमुख आकर्षण रहेको अध्यक्ष गट्टानीले जानकारी दिए । समितिले दर्शनार्थीलाई २५ रुपैयाँमा खाना उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

कुल ३७ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको महापुराणमा १ करोडभन्दा बढी सङ्कलन हुने अपेक्षा समितिको रहेको महासचिव विष्णु निरौलाले जानकारी दिए ।

उनले २०२३ सालमा पहिचान भएर २०४० सालदेखि अर्जुनधारामा निरन्तर महापुराण लगाउँदै आएको बताए । महापुराणमा नेपाल र भारतका विभिन्न शहरका तीर्थयात्री आउने गरेका छन् । 

पूर्वको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा अर्जुनधारा जलेश्वर धाम पनि पर्ने गरेको छ । सरकारले यसै वर्षदेखि अर्जुनधारा जलेश्वर धामलाई विकासोन्मुख पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको छ ।