भोजपुर/खम्बुवान राष्ट्रिय मोर्चा भोजपुरले जननायक रामप्रसाद राईले राणा शासनविरुद्ध लडेर भोजपुर कब्जा गरेको सम्झनामा साङ्केतिक कोणसभाको आयोजना गरेको छ ।

मोर्चाले जिल्ला सदरमुकामस्थित शनिबारे हटियामा शनिबार बिहान साङ्केतिक कोणसभाको आयोजना गरेको हो । कोणसभामा केन्द्रीय उपाध्यक्षद्वय जय खिम्दुङ, सङ्गम राई र केन्द्रीय महासचिव रणेन्द्र थिम्रहाङलगायतले सम्बोधन गरे ।

उपाध्यक्ष खिम्दुङले निर्मला पन्तका हत्यारालाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकारको कडा आलोचना गरे । नेपाली चेलीहरू अन्यायमा परिरहेको अवस्थामा सरकार मौन रहेको आरोप लगाउँदै उनले जनताको पसिनाबाट १८ करोडको गाडी किन्नु उपयुक्त नहुने तर्क गरे ।

अर्का केन्द्रीय उपाध्यक्ष सङ्गम राईले नेपालमा जातीय र धार्मिक एकता नभएको उल्लेख गरे । खम्बुवानलाई जातीय पार्टीको रूपमा हेर्ने गरिएकोप्रति आपत्ति जनाउँदै उपाध्यक्ष राईले आफ्नो पार्टी जातीय पार्टी नभएको स्पष्ट पारे ।

महासचिव थिम्राहाङले जननायक रामप्रसाद राईले राणा शासन अन्त्यका लागि गरेको योगदानको स्मरण गर्दै अधिकार प्राप्तिका लागि एकजुट भएर लड्नु पर्नेमा जोड दिए ।

जननायक राईले २००७ साल मंसिर ८ गते राणा शासनबाट भोजपुरलाई मुक्त गरेका थिए । यसैबीच मोर्चाले शनिबार जिल्ला अस्पताल भोजपुरका बिरामीहरूलाई फलफूल तथा जुस वितरण गरेको छ ।

अस्पतालमा रहेका १५ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको जिल्ला अध्यक्ष ऋषिधन राईले जानकारी दिए ।