विराटनगर/ विराटनगरस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करिब ४ करोड रुपैयाँ घोटाला गर्ने प्रबन्धक तथा मुख्य सञ्चालक ईश्वर श्रेष्ठसहित तीन जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दिएको छ ।

आकर्षक ब्याज दिने लोभ देखाएर बचतकर्ताको ३ करोड ९७ लाख रुपैयाँ ठगी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा गएका ईश्वरसहित अन्य दुईजना सञ्चालकलाई धरौटीमा छोड्न उच्चले आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशपछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा व्यवस्थापक ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई उच्च अदालत विराटनगरका न्यायाधीश सारङ्गा सुवेदी र उमेशकुमार सिंहको इजलासले धरौटीमा छाड्न आदेश दिएका हुन् ।

प्रबन्धक तथा मुख्य सञ्चालक ईश्वरलाई १० लाख, संयोजक इन्द्रलाललाई ५ लाख र उपाध्यक्ष विष्णु सुवेदीलाई साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको हो ।

२ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले सहकारीका १२ सञ्चालकमध्ये ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

पक्राउ परेका सहकारीका सञ्चालकलाई गत भदौ २० गते जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

अदालतको आदेशपछि थुनामा रहेका सञ्चालकले जिल्ला अदालतको आदेश बदरका लागि अदालती बन्दोबस्तको १७ नम्बर निवेदन गरेका थिए ।

सहकारी बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने प्रबन्धक तथा सचिव ईश्वरले पाँचवटा उद्योगमा करोडौं रुपैयाँ लगानी गरेको फेला परेको थियो ।

उनले पोखरादेखि विराटनगरसम्मको उद्योगमा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । साउन १९ गते मोरङ प्रहरीको विशेष टोलीले पोखराबाट उनलाई पक्राउ गरेपछि बयानको क्रममा लगानी गरेको खुलेको थियो ।

उनले विनायक प्रिण्टरमा करिब १ करोड रुपैयाँ, पोखरामा रहेको लोटस फुड प्रोडक्ट्समा ८५ लाख, विराटनगरस्थित न्यू विराट अटो वल्र्डमा ८ लाख ५० हजार, अल राइट फुड प्रोडक्ट प्रा.लि. मा तीनलाख, जिरे खोर्सानी नामक होटल खोल्नको लागि ५ लाख रुपैयाँ लगानी गरेको प्रहरीसमक्ष उनले दिएको बयानमा उल्लेख थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् सहकारीका प्रमुख ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर–३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी, सहकारीका कोषाध्यक्ष ४५ वर्षीय लीला खान, संस्थाका शेयर सदस्य सन्तोष भनिने तेजप्रसाद ढकाल, संस्थाकी तत्कालीन सञ्चालक सदस्य ४८ वर्षीया गोमा श्रेष्ठ, तत्कालीन सचिव ५५ वर्षीय गणेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष ४२ वर्षीया सुनिता दङ्गाल, गोपाल साह, विमलादेवी सारडा भन्ने शारदादेवी विमला उदास र पोखरा महानगरपालिका–८ का अनिल जोशीविरुद्ध ठगी मुद्दा दायर थियो ।

मुद्दा दायर गरिएकामध्ये इन्द्रलाल श्रेष्ठ, ईश्वर श्रेष्ठ र विष्णुप्रसाद सुवेदीबाहेक अन्य ९ जना फरार थिए ।

पक्राउ परेकालाई गत भदौ २० गते जिल्ला अदालत मोरङका न्यायाधीश दीपक खनालको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।