विराटनगर/ भारतबाट अवैध रुपमा नेपाल हतियार भित्रयाउने गिरोह सक्रिय हुन थालेपछि केन्द्रीय अनुसन्धान ब्यूरो टोली पूर्वमा आएको छ ।

अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरीको विशेष टोली र प्रहरीको टोलीले केही समययता मोरङ– सुनसरीमा संयुक्त अनुसन्धान गरिरहेको छ ।
नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई अनुसन्धान ब्यूरो टोली र मोरङ प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट पक्राउ गरेको पाँच दिन पछि शनिबार विराटनगर स्थित बसपार्कबाट थप २ जना गिरोहलाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल पेस्तोल भित्रयाउँदै गरेको अवस्थामा प्रहरीले विराटनगर स्थित बसपार्क क्षेत्रबाट दुई व्यक्तीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको नाम र ठेगाना भने प्रहरीले खुलाएन । भारतबाट ल्याउँदै गरेको पेस्तोल सहित उनीहरुलाई अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

प्रहरीले पक्राउ परेका दुबै जना लामो समयदेखि भारतबाट अवैध हतियार ओसार-पसारमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । ‘पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा हामी हतियारको ओसार-पसार र कारोबार गर्ने ठूलो गिरोहसम्म पुग्दैछौं,’ एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर उनीहरुका बारेमा सबै कुरा खुलाइहाल्न मिल्दैन ।’ क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्राउ गरेर दुबै जनालाई आवश्यक अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरुबाट मेड इन युएसए लेखिएको पेस्तोल बरामद भएको छ ।

भारतबाट ल्याइएको पेस्तोल काठमाडौंतर्फ लैजान लाग्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए । ‘उनीहरुका बारेमा विशेष ढंगले अनुसन्धान थालिएको छ,’ केसीले भने, ‘त्यही भएर सबै कुरा खुलाइहाल्न सक्ने स्थिती छैन ।’ उनले पक्राउ परेकाको नाम तत्कालै खुलाइहाल्दा उनीहरुसंग कनेक्सन भएका अन्य व्यक्तिहरु फरार हुने पनि बताए ।

प्रहरीले मंसिर ३ गते हतियार सहित उदयपुरका मन्दिप तामाङ र सुनसरी खनारका शुशिल साहलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपाल पेस्तोल भित्रयाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशिललाई पक्राउ गरेको हो । यो सँगै प्रहरीले एक साताको बिचमा सुनसरी र मोरङबाट मात्र भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने सात जना गिरोहलाई पक्राउ गरेका छ ।

खुल्ला सिमाको कारणले गर्दा सहज रुपमा भारतबाट अवैध रुपमा हतियार भित्रयाए नेपाल अपराधिक गतिविधि गर्ने गरेका छन् ।

प्रहरीले यस अघि पनि अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको हतियार पक्राउ गरेका छ । प्रहरीले एक साता अघि सुनसरीको दुई छुट्टा–छुट्टै स्थानबाट पेस्तोलसहित ३ जना पक्राउ गरेको थियो ।