पाँचथर /  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले अहिलेको प्रदेश–१ लाई ‘लिम्बुवान खम्बुवान’ राज्य बनाइनुपर्ने बताएका छन् ।
शनिबारदेखि सदरमुकाम फिदिममा सुरु भएको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । लिम्बुवान र खम्बुवानको छुट्टाछुट्टै सामाजिक, साँस्कृतिक, भाषिक र भौगोलिक इतिहास र अवस्था रहेको उल्लेख गर्दै लिङ्देनले प्रदेश–१ लाई दुई वटा प्रदेश बनाइए मात्र ती सबैको अस्तित्व रहने बताए । उनले यसो भन्दा किरात प्रदेश पक्षधरहरुले आफूलाई संकीर्ण बनेको आरोप लगाउने गरेको स्मरण गर्दै भने– ‘तर हामीले कुनै आग्रह, पूर्वाग्रहले यसो भनेका होइनौं, लिम्बुवान र खम्बुवान दुबैको अस्तित्व बचाउँनु पर्छ भन्ने हाम्रो कुरा हो, तर किरात प्रदेश पक्षधर साथीहरुले पनि यो कुरा बुझ्नु पर्छ ।’ लिङदेनले लिम्बुवान प्राप्तीको आन्दोलन कुनै हातलमा नरोकिने भन्दै संघर्षका लागि सधैं तयार रहनसमेत नेता–कार्यकतालाई आग्रह गरे । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको राजनीतिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष चन्द्र खापुङ, प्रान्तिय सचिव लावाहाङ चेम्जोङसमेत सहभागी छन् । आइतबार सम्पन्न हुने प्रशिक्षणमा जिल्लाका करिब एक सय नेता–कार्यकर्ताको सहभागिता रहेको पार्टीका जिल्ला अध्यक्ष सागर केरुङले बताए ।