भद्रपुर/ऋण तिर्न भन्दै सीमसार क्षेत्रबाट गिट्टीबालुवा उत्खनन् गरी बिक्री गर्दै आइरहेको समितिलाइ गाउँपालिकाले बिक्री गर्न रोक लगाएको छ ।

सिमसारको गिट्टीबालुवा बेचिदैँ भन्ने शीर्षकमा मङ्गलबार ब्लाष्ट दैनिकमा समाचार प्रकाशित भएपछि भेलागढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेललगायत पदाधिकारीलाई बोलाएर गाउँपालिकाले बिक्रीमा रोक लगाएको हो ।

नियमविपरीत कार्य गरेकाले प्रहरीमार्फत् उत्खनन्मा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २५ मा उपभोक्ता समितिले गाउँपालिकासँग समन्वय गर्ने भन्ने उल्लेख भए पनि वन समूहले नगरेको देखिएकाले रोक लगाइएको उपाध्यक्ष गिरीले बताए ।

गाउँपालिकाबाट जानकारी आउनसाथ तत्काल सीमसार क्षेत्रमा गएर उत्खनन्मा रोक लगाएको हल्दीबारी प्रहरी चौकीका असइ कुमार खड्काले बताए । सो क्षेत्रमा निगरानी गरिरहेकाले उत्खनन् बन्द भएको उनले जानकारी दिए ।

जानकारी पाएसँगै सीमसार क्षेत्रमा गएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । पोखरी खन्दा निस्केको सामग्री खन्ने व्यक्तिले नै लगेको पाएएपछि तुरुन्त बन्द गर्न निर्देशन दिएको डिभिजन प्रमुख घिमिरेले बताए ।

झापाको भद्रपुर नगरपालिका र हल्दीबारी गाउँपालिकाको सिमानामा रहेको देउनिया खोला आसपासको सीमसार क्षेत्रबाट वन समूहका केही व्यक्ति मिलेर सामग्री बिक्री गर्दै आएको स्थानीयको आरोप छ ।

स्काभेटर प्रयोग गरी ट्रिपरमार्फत् सामग्री धमाधम निकासी गरिरहेको जानकारीमा आएपछि ब्लाष्टकर्मीले यस विषयलाई सार्वजानिक गरेको थियो ।
साविक हल्दीबारी–३ हाल सोही गाउँपालिका २ मा रहेको लगभग ६ बिघा क्षेत्रमा फैलिएको जग्गाबाट वन समितिले ५ लाख रूपैयाँमा सम्झौता गरी गिट्टीबालुवा बिक्री गर्दै आइरहेको थियो ।

सीमसार क्षेत्रबाट उत्खनन् गरिएका सामग्री सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने प्रावधान छ । सीमसारमा खर्च भएको ५ लाख रूपैयाँ हल्दीबारी गाउँपालिकाले नदिएपछि लागेको ऋण तिर्न सामग्री बेच्नु परेको वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेलले बताएका थिए ।

गाउँपालिकाले सीमसार र शहीद पार्कको लागि ९ लाखमा डिपिआरसमेत तयार पारिसकेको छ । हालसम्म सो स्थानमा तटबन्धसहित अनुमानित १७ लाखभन्दा बढी खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षमा ३० लाख रकम गाउँपालिकाले विनियोजित गरेको जनाएको छ ।