भद्रपुर /  सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा दिने दुइजना नक्कली परीक्षार्थीलाइ सवारीसहित प्रहरीले पक्राउ गरेको छ । मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडले वुधबार लिएको सवारी चालकको ट्रायल परीक्षामा अर्कैको नाममा ट्रायल दिएको पत्ता लागेपछि उनिहरु पक्राउ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का ३४ वर्षीय वालकुमार राई र बिर्तामोड नगरपालिका २ का २३ वर्षीय विवश अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्सपेक्टर राजेश राईले जानकारी दिए ।
ट्रायल परीक्षामा अधिकारीको नाममा राईले ट्रायल दिँदादिँदै उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरिएको इसपेक्टर राईले बताए । अधिकारीको नाममा राईले ’बी’ वर्ग अर्थात् कार, जीप, भेनका लागि ट्रायल दिएको उनले जनाए । ट्रयाल दिन प्रयोग गरेको बा १७ च ३११२ नम्बरको कारसमेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।