कुम्मायक/ पाँचथरको कुम्मायक गाउँपालिकामा सवारी साधनमा नयाँ भाडादर कायम गरिएको छ ।

डिजेल र पेट्रोलको मूल्य वृद्धिसँगै प्रचलित रहेको भाडादरमा १० प्रतिशत वृद्धि गर्नुपर्नेमा यात्रुको सहजताका लागि केही प्रतिशतमात्र भाडादर कायम गरिएको हो । मङ्गलबार गाउँपालिकाको केन्द्रमा बसेको जनप्रतिनिधि, प्रशासन, व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।

हिमाल यातायात सङ्घले सोही मितिबाट भाडादरलाई कायम गर्न लागेको छ । नयाँ भाडादर अनुसार अब यातायात सङ्घले गाउँपालिकाको केन्द्र यासोकबाट बिर्तामोडसम्म ७ सय ५०, यासोक–धरान ७ सय ५०, यासोक–दमक ८ सय र यासोक–फिदिम २ सय ५० रुपैयाँ कायम गरेको छ । साविको भाडा दरभन्दा केही हेरफेर मात्र गरिएको हिमाल यातायातले बताएको छ ।

लागू भएको भाडादरलाई गाउँपालिकाको बैठकबाट अनुमोदन गर्ने कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।