दमक/ झापाको दमकमा भवन निर्माण क्षेत्रमा आप्रावासी हाबी भएको भन्दै स्थानीय निर्माण व्यवसायीले गुनासो गरेका छन् ।

पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरेर उनीहरूले दमकमा भारत र बङ्गलादेशका व्यवसायीले भवन निर्माणको काम गर्ने गरेको आरोप लगाएका हुन् । साना निर्माण व्यवसायी सङ्घ, स्वतन्त्र जडान मजदुर सङ्घले संयुक्त पत्रकार सम्मेलनमा नगरपालिकाका कर्मचारीको मिलेमितोमा गैर नेपालीलाई भवन निर्माण गर्न दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै साना निर्माण व्यवसायी सङ्घ दमक नगर कमिटिका अध्यक्ष शान्तिराम गौतमले कमिसनका लागि नगरपालिकाकै कर्मचारीले गैर–नेपालीलाई नागरिकता बनाउन सहयोग गरेको समेत आरोप लगाए । त्यस्ता आप्रावासी निर्माण व्यवसायीले सस्तो मूल्यमा घर निर्माण गरिदिने र उनीहरूले बनाएको घर नक्सासमेत नगरपालिकाले सहजै पास गरिदिने आरोप लगाएका छन् ।

विदेशी निर्माण व्यवसायीले सस्तो मूल्यमा कामदारसमेत विदेशबाटै ल्याउने हुनाले यहाँ रोजगारीको समस्या भइरहेको उनीहरूको तर्क छ ।

पत्रकार सम्मेलनमा सङ्घका सचिव छत्रपति पाठकले भारत सरकारले दिने सेवा सुविधासमेत लिएर यहाँ नेपाली नागरिकता लिइरहेका त्यस्ता निर्माण व्यवसायीले बनाएका भवनहरू भवन निर्माण आचार संहिताविपरीत रहेको बताए ।

नगरपालिकासँग कागजीरूपमा भवन आचार संहिता लागू गरेको भनेर कागज बनाउने तर अनुगमनमा नजाने प्रवृत्तिले उनीहरूको काम गुणस्तरीय नभएको सङ्घको दाबी छ ।

नेपालमा भवन निर्माण व्यवसाय गर्नका लागि अनिवार्य नेपाली नागरिक हुनुपर्ने कानून भए पनि नगरमा कानूनविपरीत काम भइरहेको र यसको अनुमगन तथा नियन्त्रण गर्ने काम कुनै पनि निकायबाट नभएको उनीहरूको तर्क छ । नगरपालिका र अन्य सरोकारवाला निकायलाई यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको सङ्घका अध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताए ।