ताप्लेजुङ/जिल्ला अदालतले आर्थिक वर्ष ०७५/७६ अन्तर्गत ३ सय २२ थान मुद्दा फछ्र्यौट गरेको छ । ४ सयमध्ये फछ्र्यौट हुन बाँकी ७८ मुद्दा अघिल्ला आर्थिक वर्षबाट सरिआएको (अल्या) र यसवर्ष साउन यता थप १ सय ६४ थान गरी २ सय ४२ मुद्दामध्ये ४८ वटा मुद्दा फछ्र्यौट भएको छ ।

कार्तिक मसान्तसम्मको तथ्याङअनुसार अब १ सय ९४ थान मुद्दा बाँकी रहेको छ ।

फैसला कार्यान्वयनअन्तर्गत जरिवानातर्फ २५ लाख १२ हजार १ सय ४७ रुपैयाँ फछ्र्यौट भएको जिल्ला न्यायाधीश कृपाश्वर कार्कीले जानकारी दिए । जरिवानातर्फ ६५ लाख ४ हजार ४ सय ८३ रुपैयाँ बाँकी रहेको छ । अल्या ८३ लाख ८८ हजार ९ सय ४५ रुपैयाँ र यस वर्ष ६ लाख २७ हजार ६ सय ८४ रुपैयाँ २५ पैसा गरी ९० लाख १६ हजार ६ सय तीस रुपैयाँ जरिवाना फैसला कार्यान्वयन गर्नुपर्ने थियो ।

सबैभन्दा कम १२ रुपैयाँदेखि बढीमा १२ लाख २५ हजार २ सय ३४ रुपैयाँ जरिवाना छ ।

यसैबीच १ हजार ३ सय ६८ वर्ष कैदमध्ये १ सय १५ वर्ष ८ महिना ९ दिन कैद फछ्र्यौट भएको न्यायाधीश कार्कीले बताए । १ हजार २ सय ५२ वर्ष ९ महिना २२ दिन कैद बाँकी रहेको छ । अल्या १ हजार २ सय ८८ वर्ष र यस वर्ष साउन यता ८० वर्ष ३ महिना ९ दिन थियो ।

कैदमा सबभन्दा कम ३ दिनसम्मको भुक्तानी बाँकी देखिन्छ । यसैगरी फैसला कार्यान्वयनका लागि परेका २० थान निवेदन– दरखास्तमध्ये १८ वटा फछ्र्यौट भएको छ । २२ थान निवेदन बाँकी छ । कैदमात्र फैसला भएका ३ सय ३२ जना र जरिवानामात्र फैसला भएका ४९ जना छन् ।

कैद र जरिवाना दुवै फैसला भएकामा १ सय ३ जना गरी ४ सय ८४ जना रहेका छन् । २ जना भारतीय गरी ४ सय ८६ जना रहेको अदालतका तहसिलदार होमप्रकाश खनालले बताए ।

ती विदेशी नागरिकमाथि मानव बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दा हुन् । सर्वोच्च अदालतको कार्तिक २८ गतेको निर्णयबमोजिम यस वर्ष फैसला कार्यान्वयनको वर्ष घोषणा गरिएकाले कार्यान्वयन गर्न– गराउन स्थानीय सरकार, प्रहरी, प्रशासन, राजनीतिक दल तथा सर्वसाधारणसँग न्यायाधीश कार्कीले आग्रह गरेका छन् ।