विराटनगर/ नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिलले व्यावसायिक रूपमा उत्पादन गर्न शुरु गरेको छ । पछिल्लो पटक जुट मिल सञ्चालनमा आएपछि जुटको ‘सुतली’ पछि बोरा उत्पादन हुन थालेको छ ।

विभिन्न साइजको ३२ टन सुतली उत्पादन गरेपछि अहिले जुटको बोरा उत्पादन गर्न शुरु गरेको विराटनगर जुट मिलका अध्यक्ष वसन्त बनले जानकारी दिए । ‘जुट मिलले सुतली उत्पादन गरेको सामग्री बिक्री गर्नको लागि प्याकिङको रूपमा बोरा उत्पादन ग¥यो,’ उनले भने, ‘प्याकिङका लागि पर्याप्त बोरा भयो । अब बिक्री गर्न विभिन्न साइजको बोरा उत्पादन हुन थालेको छ ।’

सुतली प्याकिङ गर्न एक सय केजी बोरा उत्पादन भएको जुट मिलका गुणस्तर नियन्त्रक सूचेन्द्र झाले जानकारी दिए । उनका अनुसार अहिले दुई प्रकारका बोराहरू उत्पादन गर्न शुरु गरिएको छ । १ सय तौल र ५० केजी तौल क्षमताका बोरा उत्पादन गर्न शुरु गरेको उनले बताए ।

‘बोरा उत्पादन गर्न अहिले २ वटा मेसिन चलिरहेको छ, विस्तारै सबै मेसिन सञ्चालनमा आउनेछ,’ मिलका गुणस्तर नियन्त्रक झाले भने, ‘बोरा उत्पादन हुने २ सय ७० वटा मेसिन छन् । यी सबै एक साथ चाँडै सञ्चालनमा आउनेछ ।’ धान, चामल राख्न मिल्ने ४४ इन्च लम्बाई, २७ इन्च चौडाई भएको ९ सय ७ ग्रामको १ सय केजीको बोरा र ३७ इन्च लम्बाई र साढे २२ इन्च चौडाई भएको ६ सय ६० ग्राम तौलको ५० केजीको बोरा उत्पादन गर्न जुट मिल लागि परेको छ ।

एक सय केजी तौल क्षमताको बोरालाई बीटीडी र ५० केजी तौल क्षमताको बोरालाई जीबीटी भन्ने गरिएको झाले बताए । उनका अनुसार १ सय ४ केजी गजको मोटो बोरा भएपछि एक पटकमा मेसिनबाट झिक्ने गरेको बताए । अहिले दैनिक १ सय ५० केजी बोरा उत्पादन हुने गरेको बताइएको छ ।

जुट मिल सञ्चालनमा आएपछि उत्पादन गरेको ३२ टन सुतली बिक्री गर्ने अन्तिम तयारीमा रहेको अध्यक्ष बनले बताए । यस अघि बारम्बार बन्द हुँदै सञ्चालनमा आएको यस जुट मिलले उत्पादन गरे पनि बिक्री गर्न सकेको थिएन ।

झण्डै एक दशकपछि उत्पादन बिक्री गर्न लागेको हो । मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ ।  ९० इन्च लामो सुतली भारतमा बिक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशका उद्योगमा बिक्री गर्ने बताइएको छ ।

९० इन्चको लामो सुतली स्वदेशमा बिक्री नहुने भएकाले छिमेकी राष्ट्र भारतमा बिक्री गर्ने तयारी मिलले गरेको हो । मिल सञ्चालन आउँदा जुट मिल प्रशासनले ८० टन जुट खरिद गरेको थियो ।

विराटनगर जुट मिल गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरिए यता अहिलेसम्म ३२ टन सुतली उत्पादन गरेको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाइसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ । विराटनगर जुट मिल वि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो ।

मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।

भारतीय कम्पनी विनसम इन्टरनेशनल लि.ले २०६९ सालमा वार्षिक १ करोड ३५ लाख रुपैयाँमा लिजमा लिएको थियो ।

तर, ३० प्रतिशतमात्रै मेसिन चलेपछि उसले सम्झौता करार रद्द गरेको थियो । लामो समयपछि पुनः सञ्चालनमा आएको मिलबाट उत्पादन भएको वस्तु भारतमा निर्यात हुने प्रक्रियामा पुगेसँगै काम गर्ने मजदुरमा समेत उत्साह थपेको छ ।

मिलका कार्यरत मजदुरहरू रोजगारीको वातावरण बन्नेमा आशा पलाएको अनुभूति गर्दै आएका छन् । बोरासँगै आधुनिक प्रविधिसहितको मेसिन भिœयाएर कपडा उत्पादन गर्ने लक्ष्य राखिएको छ । सञ्चालनका लागि मिल व्यवस्थापन समितिले तीन चरणको अवधारणा अगाडि सारेको हो ।

निरन्तर मिल चलाउनका लागि कच्चा जुट खरिद प्रक्रिया, जनशक्ति थप्ने, अन्य आवश्यक वस्तु खरिद गर्ने प्रक्रियासमेत बढाइसकिएको अध्यक्ष बनले बताए ।