ताप्लेजुङ/ मूल्यमा आएको भारी गिरावटका कारण अलैंची गोदाममै थन्काएर बसेका ताप्लेजुङका कृषक तथा व्यापारी चिन्तामा छन् । केही वर्ष अघिसम्म प्रतिमन (४० केजी) १ लाख २० हजारसम्ममा बिक्री भएको अलैंची अहिले प्रतिमन २५–३० हजारमा झर्दा किसानले अलैंची घरैमा थन्काएका छन् ।

भाउ बढ्ने आशामा बसेका व्यापारी अलैंची गोदाममै थन्काएर बसेका हुन् । सबैको गुनासो हुन्छ– अलैंचीको भाउ बढेन । भाउमा आएको निरन्तर गिरावटले अलैंची खेती गर्नसमेत उत्साह नभएको ताप्लेजुङ मिक्वाखोला ४ साँवाका आइतराज साँवाको भनाइ छ ।

तर ताप्लेजुङको फुङलिङ नगरपालिकाकी मनरानी थेबे लिम्बूलाई भने भाउ घटे पनि त्यति धेरै चिन्ता छैन । अलैंचीसँगै लगाएको किबीले राम्रो आम्दानी दिन थालेपछि उनी प्रफुल्ल छिन् ।

अलैंचीसँगै किबी पनि लटरम्म फलेको छ । विगत ३ वर्ष अघि किबी बगानमा अलैंची पनि रोपेपछि दुवै तर्फबाट आम्दानी भइरहेको छ । ‘अहिले किबी पनि मज्जाले फलेको छ । अलैंची पनि टिप्दै छौँ ।’ थेबेले थाङ्ग्राभरि फलेका किबीको फल टिप्दै भनिन्– ‘अलैंचीको भाउ घटे पनि किबीले आम्दानी दिँदैछ । एकै ठाउँ रोप्दा पनि हुँदो रहेछ ।’ यता सँगै रोपिएको अलैँची पनि निकै मज्जाले फलेको छ । स्थानीय बजारमा प्रतिकेजी चार सयभन्दा बढीमा बिक्री हुने किबी रुचाइएको फलमा पर्ने गर्दछ ।

अलैंचीको त छँदैछ किबीसमेत राम्रो मात्रामा उत्पादन भएको मनरानी लिम्बूको भनाइ छ । उनी भन्छिन्– ‘दुईतीन वर्षमै मज्जाले फल्यो, किबी पनि फलेको छ अलैंची पनि राम्ररी नै फलेको छ । एकै ठाउँ दुवै रोप्दा पनि हुने रहेछ ।’ उत्पादित किबी बिक्री गर्नका लागि कुनै पनि समस्या नभएको उनको भनाइ छ ।

घरमै किन्नको लागि आउने र केही कोसेलीका रूपमा पनि प्रयोग गर्ने गरेको उनी बताउँछिन् । ‘अहिले त किबी बेच्नका लागि कुनै पनि समस्या छैन ।’ उनी थप्छिन्– ‘कोही आफैं खान भन्दै घरैमा लिन आउँछन् । कोही कोसेली लाने भन्दै किन्न आउँछन् । मज्जाले नै बिक्री भइरहेको छ ।’

अलैचीको भाउमा दिनानुदिन आइरहेको गिरावटसँगै अलैँचीलाई रोग लागेको बेला किबी खेती उत्तम दीर्घकालीन विकल्प हुने मनरानीको बुझाइ छ । अलैंची बगानमा किबीलाई समेत लगाउने हो भने दुवैतर्फबाट फाइदा पुग्ने स्थानीय नरबहादुर लिम्बू बताउँछन् ।

जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किबी’ चराले चीन, नेपाल र न्युजिल्याण्ड पु¥याएको मानिन्छ । उपयोग तथा औषधीय गुण फलको राजा किबीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किबीलाई शक्तिबद्र्धक र क्यान्सरको औषधि मानिन्छ ।

किबीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, बियर, जुस, जाम आदि बनाउन सकिन्छ । यसरी अलैंची खेती तर्फ निराश बन्दै खेतीलाई नै मास्न थाल्नुभन्दा बहुबाली खेती प्रविधिलाई अपनाउनु उपलब्धी मुलक हुने स्थानीय अगुवा कृषकहरूको भनाइ छ ।