धरान । बच्चाको मृगौला र पिसाबमा देखिने समस्याको निराकरणको उपायको विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानमा बुधबारदेखि छलफल शुरू भएको छ ।
छलफलमा फ्रान्स, भारत र नेपालका बाल मृगौला रोग विशेषज्ञहरू समावेश छन् । इन्टरनेसनल पेडियाट्रिक नफ्रोलोजी एसोसिएसनको आयोजनामा प्रतिष्ठानको अडोटरियम हलमा छलफल भइरहेको हो । छलफलमा विगतका अनुभव, वर्तमान समस्यालाई कसरी समाधान गर्न सर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यक्रम संयोजक तथा बाल मृगौला रोग विशेषज्ञ डा. शङ्कर यादवले जानकारी दिए ।
नेपालमा झण्डै १० प्रतिशत बच्चामा मृगौला तथा पिसाव नलीमा समस्या हुने गरेको बाल रोग विशेषज्ञ तथा प्रचार प्रसार सदस्य डा. अरुणकुमार सिंहले जानकारी दिए । बिहीबार अभ्याससमेत गरिने भएको छ । बच्चाहरूको डायलसिस कसरी गर्ने भन्ने विषयमा अभ्यास हुने संयोजक डा. यादवले जानकारी दिए । छलफलमा करिव १५० विशेषज्ञ चिकित्सकहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले गरेका थिए ।