इटहरी / पूर्वी पृतना हेट क्वाटर इटहरीमा पहिलो पटक प्रथम पृतनापति र जनताबीचमा नेपाली सेनाले कार्यक्रम गर्ने भएको छ ।

नेपाली सेनासम्बन्धी विविध प्रर्दशनीसमेत हुने पूर्वी पृतना हेटक्वाटरले बुधबार पत्रकार सम्मेलन गरी जनाएको हो । नेपाली सेना राष्ट्र र राष्ट्रियताका लागि लागिरहेको बताउँदै जनतासँग सम्बन्ध बिस्तार पनि आवश्यक रहेको बताइएको छ ।

‘सैनिक र नागरिकबीच असल सम्बन्ध स्थापित गर्दै भोलीको कर्णधार बालबालिकासँगै स्थानीयहरूले नेपाली सेना हाम्रो सेना हो भन्ने अनुभूत गर्ने हामीले यस्तो कार्यक्रम गर्ने तयारी गरेका हौं ।’–पूर्वी पृतनापति समीर शाहीले भने । मंसिर ८ र ९ गते पूर्वी पृतनामै प्रर्दशनी गर्ने लागिएको जनाए ।

एक नम्बर प्रदेशका बालबालिका युवा तथा स्थानीयलाई सहभागिता गराई मंसिर ८ गते हाफ म्याराथुन महिला तथा पुरुष, १० किलोमिटर दौड, बालबालिकाको लागि ५ किलोमिटर खुल्ला दौड राखिएको छ ।

यसैगरी ९ गते नेपाली सेनाको विगतदेखि वर्तमानसम्म फोटो प्रर्दशनी, विपत व्यवस्थापनको सामाग्रीहरू प्रर्दशनी नेपाली सेनासम्बन्धी भिडियोसँगै सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक दिवस पोखरेलले बताए । राष्ट्रिय महत्वका विकास आयोजनाहरू सुरक्षा, प्रकृति संरक्षण विपत् ब्यवस्थापनमा समेत सामूहिक रूपमै हातेमालो गर्दै जाने पूर्वी पृतना हेटक्वाटरले जनाएको छ ।