भद्रपुर/ मेची पुल जोड्ने सडकमा परेका तीन ओटा सरकारी कार्यालयसहित २२ घरलाइ खाली गराउदै सडक निर्माण शुरु गरिएको छ । नेपाल-भारत सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका-५ स्थित मेची नदीमा पुल निर्माण भएको ६ महिना पछि सडक बनाउन शुरु गरिएको हो ।

पुल जोड्ने सडकका लागि पहिलो चरणमा नेपालतर्फको मेची पुलदेखि शोभा श्रेष्ठको घरसम्म १ सय ६७ मिटर पर्छ ।

त्यस्तै नेपालतर्फ कै झापा चोकसम्म थप एक हजार २सय ९० मिटर सडकमा ठेक्का लागिसकेपनि मु-आब्जा विवादका कारण अन्यौल छ । मुआब्जा दिइसकेको क्षेत्रमा हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले पहिलो चरणको सडक खाली गराउने काम सुरु गरेको छ ।

पुल जोडने सडकमा मेची भन्सार,वडा प्रहरी कार्यालय र पशु क्वारेन्टाइण्ड कार्यालयका आधा भाग परेका छन् । सडकको चौडाइ भने १५ मिटर रहने छ ।

मेची पुल निर्माण ठेकेदार कम्पनी सूर्य एण्ड सन्स जेभी धरानले सडकका लागि घर खाली गराउने काम सुरु भइसकेको जनाएको छ । घर खाली भएपछि दुई सातामा १ सय ६७ मिटरमा ग्राभेल सडक निर्माण हुने कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए ।

भारततर्फ पुल जोड्ने सडक निर्माणमा बङ्गाल तथा बिहार कता लैजानेमा अन्यौल कायमै भएको उनले जनाए । पुल उदघाटनको मिति भने तय नभइसकेको उनको भनाइ छ । निर्माण कार्य सुरु गरिसकेकाले मेचीपुलमाथि आवतजावतमा तत्काल रोक लगाइ रङ्रोगनको काम भइरहेको उनले जनाए ।

मङ्सिरको दोस्रो साताभित्र सडक बनाउने योजनाका साथ अहिले धमाधम काम भइरहेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीका इन्जीनियर नन्द कुमार गुप्ताले बताए । सडकमा तत्काल ग्राभेल गरी पुल उद्घाटन गरिने उनले बताए ।

०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण सम्पन्न हुने गरी शिलान्यास गरे पनि विविध कारणले आठ वर्षमा निर्माण सम्पन्न भएको थियो । कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार ठेक्का लिएको थियो ।

६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको प्राविधिकले जनाएका छन् ।