धनकुटा/ व्यवसायिक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ ।

धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त एक दिने महोत्सवमा नगरक्षेत्रको किसानका २० वटा एभोकाडोका स्टलहरू रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मङ्सिर ८ गते धनकुटा बजारको परिचय मोड क्षेत्रमा आयोजना गरिएको एभोकाडो महोत्सव एसियाकै पहिलो महोत्सव भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले जानकारी दिए । धनकुटा बजारको परिचय मोडमा ३० लाख लागतमा निर्मित एभोकाडो स्तम्भ र पार्कको उद्घाटनसँगै महोत्सवको आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

महोत्सवमा सहभागी किसानलाई प्रोत्साहन स्वरुप प्रथम, द्वितीय, तृतीय र सान्तत्वना हुने ६ जना किसानलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइने नगरपालिकाले जानकारी दिएको छ । एभोकाडोको खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले गएको असारमा धनकुटालाई ‘एभोकाडोको राजधानी’ घोषणा गरेको थियो ।

नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेसँगै प्रति केजी ५० रुपैयाँमा बिक्दै गरेको एभोकाडो अहिले धनकुटामा १ सय ५० देखि २ सय ५० रुपैयाँ पुगेको छ ।

वि.सं.२०२८ सालमा बेलायत सरकारले धनकुटाको पाख्रीबास कृषि अनुसन्धान स्थापना गरेसँगै ती देशका नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ देखि ३५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।