चतरा / वराहक्षेत्रमा लाग्ने पूर्वको प्रसिद्ध धार्मिक हरिबोधनी एकादशी कार्तिके तिर्थमेला आज सोमवारवाट शुरु भएको छ । मंसिर ३ गते हरिबोधनी एकादेशीवाट शुरु भएको मेला मंसीर ७ गते पूर्णिमा सम्म ५ दिन लाग्ने भएको हो ।

वराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको संयोजकत्वमा मेला मूल व्यवस्थापन समिति र विभिन्न ९ उपसमितिहरु गठन गरिएको वराहक्षेत्र नगरपालिकाका सुब्बा कपिलमणी दाहालले बताए ।

यस अघि नगरपालिकाले मेला मूल व्यवस्थापन समिति गठन गर्दा संरक्षण मञ्चलाई नबोलाएको र भक्तजनहरुवाट २ लाख उठाएर मेला सञ्चालन गरेको भन्दै मञ्चका अध्यक्ष नरवहादुर राई,सचिव राजु घिमिरे ,कुमार र भक्त श्रेष्ठले विरोध जनाएका थिए ।
पछि स्थानिय नेकपा नेता तुलसी पाण्डे र चन्द्र थापा मगरको पहलमा नगरपालिकाले मञ्चस“ग मौखिक सहमतिमा मञ्चलाई मन्दिर क्षेत्रको सम्पूर्ण जिम्मा दिईएको दाहालले बताए ।

हिन्दुहरुको पवित्र चार धाम हरिहर,केदार मुक्ति मध्ये एक वराहक्षेत्रमा कार्तिक महिनाको हरिबोधनी एकादशी देखि पूर्णिमासम्म मेला लाग्ने गर्दछ । निकै श्रद्धा र आस्थाका साथ लिईने मेलामा स्वदेश लगायत विशेषगरी छिमेकी देश भारतको विहार,युपी, पश्चिम बंगाल, सिक्कीम तथा भुटान र बंगलादेशवाट लाखौको संख्या हिन्दु तिर्थालु मेला भर्न तथा पर्यटक घुम्न आउने गर्दछन् ।