बाँके /  सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन ।  २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन । “मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हाै, पूर्वउपसभामुख सुवेदीले भने । उनले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफैले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताए । मालतीका यसअघि दुई छोरा छन् । समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश नं ५ प्रदेशसभा सदस्य कृष्णा केसीले बताए । उनले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिककर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भने , “बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुवैबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।”