विराटनगर /  पूर्व उपप्रधानमन्त्री तथा  अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा भव्य कार्यक्रम गरि नागरिक अभिनन्दन गरिएको छ ।  नेपाली कम्यूनिष्ट आन्दोलनका अगुवा अधिकारीलाई शनिबार नागरिक अभिन्नदन गरिएको हो । विराटनगरलाई कर्मभूमी बनाउँदै नेपाली राजनीतिको उचाईमा पुगेका अधिकारीलाई ८२ वर्षको उमेरमा अभिनन्दन गरिएको हो । यहाँस्थित वीरेन्द्र सभागृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा.गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, मन्त्रीमण्डलका सदस्य मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित संघीय प्रतिनिधिसभाका संसद सदस्यसहित विराटनगरका अगुवा तथा अधिकारीलाई माया गर्नेहरुको भीड थियो । नेपाली कम्यूनिष्ट आन्दोलनका अथक योद्धा, सामाजिक परिवर्तनका प्रराम्भकर्ता अधिकारीको योगदानको कदर गर्दै साढे दुई सयभन्दा बढी संघ–संस्थाको पहलमा नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो । को हुन अधिकारी नेपाली कम्यूनिष्ट आन्दोलनमा १६ वर्षको उमेरदेखि लागेका अधिकारी ६० वर्षभन्दा बढी क्रियाशिल रही हाल राजनीतिकमा बिश्राम र सामाजिक अभियानमा क्रियाशिल देखिएका छन् । राजनीतिक यात्रामा उनको चारवर्ष भूमिगत, तीनवर्ष जेल र तीनवर्ष निर्वासन जीवन समेत बिताउने नेता हुन् । नागरिक सम्मान तथा अभिनन्दन भएका पूर्व उपप्रधानमन्त्री अधिकारीले आफ्नो राजनीति र कर्मभूमि विराटनगरमा सम्मानित हुन पाउँदा उमेरको हद बिर्सन पुगेको बताए । उनले आफ्नो उचाईमा मोरङको माटोले उर्जा दिएको स्मरण गर्दै बृद्धबृद्धाको सम्मानमा आफैंले ल्याएको बृद्धभक्ताको कार्यक्रम अनिनन्दनसँगै सार्थक भएको बताए । नेपाली कम्यूनिष्ट आन्दोलनको ६० वर्षे आन्दोलन र संलग्नताले उचाई प्राप्त गर्दै गरेको बेला आफ्नो सम्मानले जीवनलाई अर्थपूर्ण बनाएको उनको भनाई थियो । अधिकारी पहिलो पटक २०५१ साल कातिक २९ गते पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा गठन भएको कम्यूनिष्ट सरकारको पालामा अर्थमन्त्री भएका थिए । वृद्धाभत्ता वितरणको शुरुवात उनी अर्थमन्त्रि भएकै बेला प्रधानमिन्त्र मनमोहनले गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले नेपालको मुहार फेर्ने राजनीतिक दिशा र कार्यक्रम ल्याउन सफल भएका नेतालाई ज्येष्ठ मात्रै नभई सर्वोकृष्ट सम्मानले अनिनन्दन गर्दा पनि कम हुने बताए । ‘इमान्दार र स्वच्छ छवीको राजनीति गर्नु भएका व्यक्तिलाई अभिनन्दन गर्नु आफैं अभिनन्दन हुन जतिकै सम्झेको छु’ प्रदेश प्रमुख तुम्बाहाङले भने ।  प्रदेशका मुख्यमन्त्री शेरधन राईले असल संस्कार र संस्कृतिको थालनी गरेर नेपालीको मनमनमा बस्न सफल नेताहरुमध्येका एक अधिकारी राजनीतिक प्रेरणाको अभिभावक भएको बताए ।