पाँचथर/ मंसिर ३ गतेबाट पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंसिर ३ गतेबाट परिचय पत्र वितरण हुने बताए । जिल्लामा सङ्कलित गरिएको विवरणका आधारमा कात्तिक १५ गतेदेखि नै कार्ड छपाइ शुरू भएको हो । पाँचथरमा गत ५ असारदेखि परिचयपत्रका लागि नागरिकको व्यक्तिग विवरण सङ्कलन कार्य शुरू भएको थियो ।

२० कात्तिकसम्ममा जिल्लाका ५० हजार ९ सय ४७ जनाको विवरण सङ्कलन भएको जनाइएको छ ।

आठ वटा स्थानीय तह रहेको जिल्लाको सबै तहमा केन्द्र स्थापना गरी विवरण सङ्कलन गरिएको थियो । नागरिकको वैयक्तिक र जैविक पहिचान समेटेर छुट्टै बिशेष नम्बरसहितको परिचय पत्र दिइने बताइएको छ । तत्कालका लागि व्यक्तिको नाम, फोटो, दुवै हातको बुढी र चोर औंलाको छाप, जन्ममिति, लिङ्ग, बाजुबाजेको नाम लगायतका विवरण उल्लेख गरिएको छ ।

यसलाई बहूउपयोगी बनाउन क्रमशः नागरिकको सम्पूर्ण विवरण राख्दै लगिने बताइन्छ ।

परिचयपत्र यन्त्रले अध्ययन गर्न सक्ने गरीको चिप्ससहितको हुनेछ । आठ वर्षअघि शुरू गर्ने भनिएको राष्ट्रिय परिचयपत्र वितरण कार्य लामो समयपछि कार्यान्वयनको चरणमा पुगेको हो ।  परिचयपत्र ऐतिहासिक रूपमा पहिलोपल्ट पाँचथर र सिंहदरबारका कर्मचारीलाई वितरण गर्न लागिएको हो ।