कैलाली / सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीको नेकपा सदस्यता समेत खोसिएको छ । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको छ। पदीय मर्यादा विपरीत काम गरेको भन्दै सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टीले जनाएको छ । मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका सोडारीलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले बुधबार पार्टीबाट निष्कासन गरेको हो। नेकपाका सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैंककले उनलाई कारवाही गरेको बताइएको छ । सोडारीले लिदै आएको जिम्मेवारी पार्टीले कैलाली क्षेत्र नम्वर ४ को ‘ख’ बाट निर्वाचित कृष्णराज सुवेदी दिएको छ । तत्कालीन नेकपा एमाले कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको बताइएको छ । उनी विरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको तथा कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताए । प्रदेश इञ्चार्ज भीम रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग प्रधानमन्त्री ओलीले सोडारीका बारेमा छलफल गरेर हटाइएको बताइएको छ । उनका गलत क्रियाकलापको फोन रेर्कड अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाईसमेत सुनाइएको थियो । श्रोतका अनुसार पहिले पनि ओलीको इच्छा विपरीत भीम रावलले उनलाई मन्त्री बनाइएको थियो । उनी पार्टीभित्र माधव नेपाल समूहमा थिए । माधव नेपाल समूहभित्र पनि उनी घनश्याम भुसाल र योगेश भट्टराई निकट मानिन्छन् । एग्रेसिभ स्वभावका सोडारीको पारिवारिक समस्या पनि भएको श्रोतले बताएको छ ।