नयाँ दिल्ली/ भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । भारतको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् ।

सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लिम धर्मावलम्बी मारिएको अदालतको भनाइ छ । हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए । पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन ।

तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन् । निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याइ छ । घटनामा ती प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्याजस्ता आपराधिक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ ।

अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ । उत्तर प्रदेशमा ठूलो सङ्ख्यामा रहेका हिन्दू धर्मावलम्बी र अल्पमतमा रहेका मुस्लिम धर्मावलम्बीका बीच विगतमा ठूला हिंसात्मक घटनाहरू हुने गरेका थिए । त्यस्ता घटनामध्ये हसिमपुरा नरसंहार पनि एक थियो । पटकपटक भएको सो घटनामा परी सयौँको मृत्यु भएको छ भने त्यही घटनामा यी प्रहरीहरूलाई दोषी ठहर गरिएको हो ।

– रासस/एएफपी