कोलम्बो/ श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान संसद्बाट गर्न सभामुखले आह्वान गरेका छन् ।

सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिए । संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने खतराबाट मुलुकलाई जोगाउन सकिने उनको भनाइ छ ।

गत शुक्रबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाले एकाएक एउटा प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिक सङ्कट शुरु भएको हो । उनले बाहलवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई हटाएर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपतिले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपनि सभामुख जयसुरियाले पुरानै प्रधानमन्त्रीलाई मान्यता दिएका छन् । उनले नयाँ प्रधानमन्त्रीको नियुक्ति नमिलेको तर्क गरेका छन् । संसद बैठक तत्काल बोलाएर संसदमा जसले बहुमत पु¥याउँछ, त्यसैलाई प्रधानमन्त्री मान्नु पर्ने उनको भनाइ छ ।

श्रीलङ्कमा अहिले प्रधानमन्त्रीबाट अपदस्त गरिएका विक्रमासिङ्घे र नयाँ नियुक्त गरिएका राजापाक्षे दुवैले आफू नै प्रधानमन्त्री भएको दावी गर्दै आएका छन् ।

यसैबीच श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाव बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद् गठन भएको हो । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् । विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो । यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन् ।

यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले जतिसक्दो चाँडो संसदको बैठक आह्वान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उनले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गरेका छन् ।

- रासस सिन्ह्वा