रङ्गेली/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारले जग, पिल्लर र छतको काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र र स्थानीय तहसँग अनुभव भए पनि प्रदेश विल्कुलै नयाँ भएको बताए ।

नेपाल प्रदेश सरकारको अभ्यास नभएकाले प्रदेशको काम ‘गुन्द्री र पिरा’ मा बसेर प्रारम्भ भइरहेको बताए । नेपालले हस्ताक्षर गरिसकेका दिगो विकासका १७ वटा लक्ष्य पूरा गर्नुपर्ने जिम्मेवारी प्रदेशलाई पनि रहेको बताए ।

कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले लामो समय अस्थिरता रहेकाले योजनाहरू पूरा हुन नसकेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले राजनैतिक तहबाट आउने योजनाहरू हचुवाको भरमा आउने हुँदा योजना कार्यान्वयनमा लामो समय लाग्ने गरेको बताए ।

उनले स्रोतसाधनको अवस्था हेरेरमात्र नेतृत्ववर्गले योजना ल्याउनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहमा समन्वय हुनुपर्नेमा जोड दिए ।