एजेन्सी/ पाकिस्तानी सेनाले लेफ्टिनेन्ट जनरल असीम मुनीरलाई नयाँ इन्टर सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) प्रमुख बनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया विङ्गले बुधबार दिएको जानकारी अनुसार असीम मुनीरलाई आईएसआईको महानिर्देशक बनाइएको हो । असीम मुनीरले पुराना आईएसआई चीफ लेफ्टिनेन्ट जनरल नावीद मुख्तारको पदभार ग्रहण गर्ने छ ।

पाकिस्तानी मिडियामा असीम मुनीरलाई नै आईएसआई प्रमुख बनाउने अनुमान पहिलेदेखि नै आइरहेको थियो । पाकिस्तानी सेनाले सेप्टेम्बरमा ५ मेजर जनरलको पदोन्नति गरी उनलाई लेफ्टिनेन्ट जनरल बनाएको थियो ।

लेफ्टिनेन्ट जनरल असीम मुनीरले यसअघि मिलिट्री इन्टेलिजेन्सका महानिर्देशकका रुपमा समेत सेवा गरेका थिए । यसबाहेक उनले फोर्स कमाण्ड नर्थन एरियाका कमान्डरका रुपमा पनि काम गरेका थिए । उनले मार्च २०१८ मा हिलाल–ए– इम्तियाज अवार्ड पनि पाएका थिए ।

पाकिस्तानी मिडिया विङले असीम मुनीरसँगै सेनाका महत्वपूर्ण पदमा अन्य अधिकारीलाई समेत नियुक्त गरेको जानकारी दिएको छ । पाकिस्तानी समाचार वेबसाइट डनका अनुसार लेफ्टिनेन्ट जनरल अजहर सालेह अब्बासीले जनरल हेडक्वार्टर्स (जीएचकिउ) मा चीफ अफ लजिस्टिक्स स्टाफको जिम्मेवारी सम्हाल्नेछन् ।

लेफ्टिनेन्ट जनरल नदीम जाकीलाई पेशावर कप्र्सको कमान्डर बनाइएको छ । यस्तै लेफ्टिनेन्ट जनरल अब्दुल अजीजलाई जनरल हेडक्वार्टर्समा मिलिट्र सेक्रेटरी बनाइएको छ ।

लेफ्टिनेन्ट जनरल मोहम्मद अदनानलाई भाइस चीफ अफ जनरल स्टाफ बनाइएको छ भने लेफ्टिनेन्ट वसीम अशरफलाई आम्र्सको आईजी बनाइएको छ ।