चतरा / थारु कल्याणकारी सभा वराहक्षेत्र नगर कार्य समितिको आयोजनामा वराहक्षेत्रमा जितिया पर्व मनाइएको  छ । कल्याणकारी सभाले प्रथम जितिया सांस्कृतिक महोत्सव–२०७५ आयोजना गरी मनाएको हो । महोत्वसमा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले वराहक्षेत्र थारू बाहुल्य क्षेत्र भएको र थारू समुदायका संस्कृतिक, भेषभूषा र रहनसहन वराहक्षेत्रको अमूल्य निधि भएको बताए । समृद्ध वराहक्षेत्रका लागि यहाँका सांस्कृतिक मूल्यमान्यताले ठूलो महत्व राख्ने बताउँदै  नगर प्रमुख खनालले यसको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकार लागि पर्ने बताए । तराई–मधेसमा धुमधामका साथ मनाइने जितिया पर्वलाई वराहक्षेत्र कल्याणकारी सभाको आयोजनामा महोत्सवका रूपमा मनाइएको हो । विवाहित थारू महिलाले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै जितिया पर्व मनाउने चलन छ । यो चलनले सांस्कृतिक रूप ग्रहण गरेपछि थारू बाहुल्य क्षेत्रमा बसोबास गर्ने अन्य समुदायले समेत सांस्कृतिक रूपमा पर्व मनाउन थालेका छन् । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइन्छ । सप्तमीका दिन ‘नहाय’ खाएदेखि यो पर्व शुरु हुने गर्छ । ‘नहाय’ खाने वर्तका दिन वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गर्छन् । यस पर्वमा ‘नहाय’ खाएको दिन वर्तालु महिलाहरुले माछा तथा मरुवाको रोटी खाने चलन छ । पर्वको दोस्रो दिन वर्तालु महिलाहरूले २४ घण्टाको लामो निराहार वर्त ९उपवास० लिन्छन् । उपवासका दिन महिलाहरू गाउँको एकै ठाउँमा जम्मा भई आराध्यदेव जितवाहनका कथा सुन्ने र गीत, भजन गाउने गर्छन् ।