धरान/ नेपाली बैङ्कमा रहेका पुराना एक हजार र पाँच सय दरका भारतीय रुपियाँ सटही गर्ने प्रस्तावले पुनः भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ ईन्डिया (आरबीआई) को बोर्डमा प्रवेश पाउनेभएको छ । भारतको नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले यो प्रस्ताव आफूले लैजाने बताएका हुन। बिहीबार राजधानीमा आयोजित  कार्यक्रममा उनले नेपाली बैङ्कमा धेरै परिमाणमा भारु नरहेको र यसको सटहीको विषयमा आरबीआईको सञ्चालक समिति समक्ष पुर्याउने जानकारी दिए । भारतको अमौद्रीकरण (डिमोनिटाइजेसन) अगाडि नेपालमा रहेको भारु धेरै होइन, उनले भने  यसबारेको प्रस्ताव बोर्डमा लैजान सकिन्छ । उपाध्यक्ष कुमार आरबीआई बोर्डको सदस्यसमेत हुन। उक्त बोर्डमा हाल १४ जना सदस्य छन् । भारतले दुई वर्षअघि सन् २०१६ को नोभेम्बरमा अमौद्रीकरणको घोषणा गरेपछि नेपालमा रहेका एक हजार र पाँच सयका नोट सटही अन्योलमा परेको थियो । त्यसयता भारतीय पक्षबाट बारम्बार बैङ्कमा रहेका नोट सटहीको आश्वासन दिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । अहिले नेपाली बैङ्कमा करिब सात करोड बराबरका त्यस्ता नोट रहेको अनुमान छ । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिपेन्द्रबहादुर क्षेत्रीले नेपाली नोट सटहीको विषयमा भारतको धारणाबारे प्रश्न राखेपछि उपाध्यक्ष कुमारले एकपटक आफैले बोर्डमा प्रस्ताव लैजाने बताएका हुन।