अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौन हिंसा सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । पेनसिलभेनियाको सर्वोच्च अदालतले गठन गरेको विस्तुत जुरीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

अदालतले सार्वजनिक गरेको प्रतिवेदनमा यौन हिंसामा संलग्न भएको आरोप लागेका तीन सय भन्दा बढी पादरीको नाम पनि उल्लेख गरिएको छ ।

पेनसिलभेनियाका क्याथोलिक चर्चमा पछिल्लो ७० वर्षमा एक हजार भन्दा बढी बालिबालिकामाथि यौन हिंसा भएको विस्तुत जुरीले गरेको अनुसन्धानबाट खुलेको छ ।

यौन हिंसाका घटनालाई क्याथोलिक चर्चले व्यवस्थित रुपमा ढाकछोप गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । विश्वभरका क्याथोलिक चर्चमा यौन हिंसा हुने गरेको आरोप रहेको छ ।

पेनसिलभेनियाको प्रतिवेदन त्यसकै पछिल्लो प्रमाण हो । विस्तृत जुरीले १८ महिना लगाएर गरेको अनुसन्धानको प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो । यौन हिंसा भएका केही बाहिर आउन नचाहेकाले अवस्था अझै भयावह हुन सक्ने जुरीले बताएको छ ।

हिंसामा पर्नेमा साना बालक तथा बालिका र किशोर–किशोरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरुलाई क्याथोलिक चर्चका पादरीले यौन शोषण गरेका हुन् ।

चर्चका नेतृत्वकर्ताले पीडितको कुरा नसुन्ने र पीडक तथा चर्चलाई जोगाउनका लागि व्यवस्थित रुपमा घटनाको ढाकछोप गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेतृत्वले नै ढाकछोप गरेकाले धेरै घटना कारबाही प्रक्रियामा लैजानका लागि योग्न नरहेको तर अनुसन्धान जारी राख्दा अझै यस्ता धेरै घटना बाहिर आउने जुरीका सदस्यले बताएका छन् ।