पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्मित स्वास्थ्य चौकी भवनको बहुँसांस्कृतिक झाँकी सहित बिहीबार उद्घाटन गरिएको छ ।

भर्खरै नगरपालिकाले घोषणा गरेको नगरको पहिलो जाती धिमालको नृत्यका साथै सन्थाल, साकेला, च्याब्रुङ, संगीनी र बालन प्रस्तुतिका साथ भवनको उद्घाटन् गरिएको हो । सो अवसरमा नगरकै पहिलो प्रसुति केन्द्रको पनि उद्घाटन् भएको छ । १ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवनको १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितले उद्घाटन् गरेका छन् । उनीहरुले जग्गादाता तथा सहयोगीलाई सम्मान समेत गरेका छन् । यसअघि १ नम्बर वडाको पथरी बजारमा रहेको सानो भवनमा सञ्चालन हुँदै आएको थियो ।

स्थानीयको ठूलो उत्साहमा आयोजित समारोहमा ४ करोड बढी मुल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गर्ने ११ जना जग्गादातालाई ताम्रपत्र र दोसल्लाले सम्मानित गरिएको छ । बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले ३–३ कठ्ठा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहालले १/१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०/१० धुर जग्गा दान गरेका थिए । स्वास्थ्य चौकीको भवनको पहल गर्ने तात्कालिन मोरङका जनस्वास्थ्य अधिकृत डाक्टर नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले अबको २ बर्ष भित्रमा ५० सैयाँको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको बताए । अस्पताल निर्माणका लागि पनि जग्गादाताहरुले जग्गा दान गर्ने बचनबद्घता दिएको आचार्यले जनाए ।

स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा ८ जना स्वास्थ्यकर्मीहरु रहने भएका छन् । नगरको श्रोतबाट ४ जना प्रसुति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य ४ जना कार्यालय सहयोगीहरु समेत रहने बताईएको छ । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढेको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालेको छ ।