पथरी । पथरी–डायनिया सडक खण्डको खाल्डा–खुल्डी मर्मत गर्नुपर्ने माग राख्दै स्थानीयले बन्द गरेको सडक सहमतिपछि खुलेको छ । नगरपालिकाले सडक बनाउनु पर्ने माग राख्दै स्थानीयले बुधबार बिहान सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्धपछि पथरीशनिश्चरे–५ का वडाध्यक्ष जोगबहादुर धिमाल र ६ का अध्यक्ष जय तामाङको उपस्थितिमा दुई दिनपछि सडक मर्मत गर्ने सहमतिपछि बन्द खुलेको हो । पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६ नम्बरको सिमानामा पर्ने कोसेली चौक आसपासको लगभग ३ किलोमिटर सडक बिग्रिएको थियो । वर्षात्को समयमा पानीले खाल्डा भरिँदा सडकमा गुड्ने यात्रुबाहक बसहरू दुर्घटनामा पर्ने सम्भावना रहेको स्थानीय दिलबहादुर तिम्सिनाले बताए । सडक बन्द गरेर खाल्डा खुल्डी भएको ठाउँमा धान रोपेको तिम्सिनाले बताए । त्यस सडक भएर दैनिक ८ वटा यात्रुबाहक बस, दुईवटा लामो दूरीको यात्रु बस, सफारी लगायत गुड्ने गरेका छन् । उता खाल्डाखुल्डी भएको ठाउँमा नगरपालिकाको मेयर दिलिपकुमार राई, वडा नम्बर ६ का वडाध्यक्ष जय तामाङ र प्राविधिकसहितको टोलीले मङ्गलबार नै स्थलगत अनुगमन गरी त्यहाँको स्टिमेट तयार गरेको नगरपालिकाले जनाएको छ । त्यस स्थानको लागि सडक मर्मत भनेर ४ लाख रुपैयाँ यसअघि नै छुट्याएकोले मर्मत कार्य दुई दिनपछि नै शुरु हुने वडा नं. ६ का वडाअध्यक्ष तामाङ बताउँछन् ।