पथरीशनिश्चरे । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि पारित नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ । गत वर्षभन्दा ८ करोड घटी गरेर ७४ करोड ९८ लाख ९९ हजारको बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

असार १० गतेभित्रमा नीति, कार्यक्रम तथा बजेट पारित गरिसक्नुपर्ने प्रावधान भएपनि नगरसभाले ढिलो गरी हालै पारित गरेको नीति तथा कार्यक्रमसहितको बजेट नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले शनिबार पत्रकारमाझ सार्वजनिक गरेका हुन् ।

गतवर्ष ८२ करोड ७३ लाख ६१ हजार ९४ रुपैयाको बजेट सार्वजनिक गरिएकोमा यस वर्ष ७४ करोड ९८ लाख ९९ हजारको बजेट दोश्रो नगरसभामार्फत सार्वजनिक गरिएको जनाइएको छ । गत वर्ष प्रदेशबाट समेत अनुदान आउनसक्ने अनुमान गरेर बजेट बढीको बनाइएकोमा अनुदान आइसकेकाले त्यस्तो भएको उल्लेख छ ।

नगरपालिकाले नगरको ठूला आयोजनाको डीपीआर परामर्सदाता छनौट भई काम शुरु भइसकेकाले आगामी ४ वर्ष भित्रमा नगरको चक्रपथ तयार गर्ने नगर प्रमुख शाहले पत्रकारहरुलाई जानकारी गराए । नगरभित्र वसोवास गर्ने नागरिकहरुको अभिलेखका लागि ६ महिना भित्रमा नगर प्रोफाइल तयार गरी मानव सुचांकका आधारमा आगामी ४ वर्ष भित्रमा लक्षित समूहलाई घरमा टिनको छानाको व्यवस्था गर्ने योजना पनि सुनाए । नगरपालिकाभित्र सेवाग्राहीलाई सहजरुपमा सेवा दिनु टोकन प्रणालीको व्यवस्था र कर्मचारीहरुका लागी ई–हाजिरी प्रणालीको व्यवस्था गर्ने योजना नगरसभाले वनाएको उनले उल्लेख गरे । नगरसभाबाट आर्थिक कार्यविधि, सहकारी ऐन र संघसंस्था ऐन पारित गरिएको पनि जनाइएको छ ।

नगरभित्र रहेका खोलाका पुल सडक कालोपत्रका लागि केन्द्रीय सरकारसंग र नगरभित्र रहेका लामा दुरिका सडक स्तरोन्नती र ग्राभेल गर्नका लागि प्रदेश सरकारसंग माग गर्ने समेत नगरसभाले निर्णय गरेको छ । नगरभित्र रहेका साना तथा ठूला, बढी दुरीका सडक, शिक्षणसंस्था, स्वास्थ्य, खानेपानी, विद्युत, सोलारवत्ती विस्तारका लागी नगरपालिकाले लगानी गर्ने योजना पारित भएको छ ।