यासोक । पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकामा सञ्चालित तमोरलिफ्ट खानेपानी आयोजनाको काममा उपभोक्ता समिति नै बाधक बनेको छ । हजारौं स्थानीयवासी खानेपानीको हाहाकारको मारमा परिरहे पनि उपभोक्ताको कारण निर्माणमा सुस्तता आउनाले यस्तो समस्या देखापरेको हो । तमोर लिफ्ट खानेपानी आयोजना उपभोक्ता तदर्थ समिति यसअगाडि नै गठन भइसकेको छ । तर, उक्त समिति निष्क्रिय हुँदा निर्माण कम्पनीलाई समस्या हुँदै आएको छ । राजनीतिक खिचातानीका कारण हालसम्म पनि उपभोक्ता समिति गठन गर्न नसकिएको वडा नं. १ का वडाअध्यक्ष मोतीलाल तामाङले बताए । लामो समयदेखि समिति गठन गर्नका लागि सबै राजनीतिक दल र स्थानीय सरोकारवालाको भेला बसे पनि कुनै निर्णय हुन नसकेको उनले बताए । विभिन्न राजनीतिक दलहरूले समितिमा आ–आफ्नो पार्टीको प्रतिनिधित्व हुनुपर्ने अडान राखेका कारण यस्तो समस्या देखा परेको हो । यसअगाडि नै गठन गरिएको तदर्थ समिति निष्क्रिय बनेपछि अहिले आयोजनाको काम प्रभावित हुँदै आएको छ । आयोजनाको काम शुरु गरेको निर्माण कम्पनीले एक वर्षको समयमा पनि १० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । उपभोक्ता समिति गठनको भागबण्डा नमिलेका कारण आयोजनाको काम सुस्त भएको स्थानीयको आरोप छ । आयोजनाको काम गर्दै आएको निर्माण कम्पनीले उपभोक्ता समिति नहुँदा समस्या भएको बताएको छ । आयोजनाको काम गर्दा स्थानीयसँग सहकार्य गरेर काम गर्ने वातावरण नहुँदा काम गर्न चुनौती देखापरेको बताउँदै आएको छ । कुल ७० करोडको लागतमा निर्माण कार्य शुरु भएको आयोजनाको काम कन्काई प्रेरा जेभीले गर्दै आएको छ । कन्काईले ४५ करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । २ हजार ८ सय घरधुरीले आयोजनाको १ प्रतिशत रकम कुल ७० लाख जम्मा गरेका छन् । यता गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले आयोजनाको काम सुस्त हुनुमा निर्माण कम्पनीलाई ढुवानीका लागि सडकको समस्या भएको बताए । ‘समिति गठन समयमै हुनुपथ्र्यो, समिति गठन नहुँदा मध्यस्थताको काम समितिले गर्न नसकेकाले ढिलो भएको हो’ –अध्यक्ष थापाले भने । उनले चाँडै नै समिति गठन गरेर आयोजनालाई तीव्र गतिमा अघि बढाउन पहल गर्ने बताए । निर्माण कम्पनीले अयोजनाको काम १८ महिनामा सम्पन्न गर्नुपर्ने हुन्छ । तर आयोजनाको १२ महिनामा १० प्रतिशत मात्रै काम सम्पन्न गर्नु, समयमै समिति गठन नहुनु, ढुवानी समस्या देखापर्नुजस्ता कारणले तोकिएको समयावधिमा काम पूरा गर्न निर्माण कम्पनीलाई चुनौती छ ।