काठमाडौं । अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।
मन्त्रिपरिषद् बैठकले ‘श्रम नियमावली २०७५’ स्वीकृत गरेसँगै रोजगारदाता कम्पनी वा व्यक्तिले मजदुरको तलब तथा सेवा सुविधा बैंक खाताबाट भुक्तानी गर्नुपर्ने भएको हाे । ‘नियमावलीमले समग्र नेपाली श्रम बजारका मजदुरको सुरक्षा गर्नेछ’, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले भने, ‘यसलाई सरकाले अब कडाइका साथ लागू गर्न केही समयभित्रै निर्देशिका पनि जारी गर्छ।’
नियमावलीमा कामदारको सञ्चयकोष, उपदानको अनिवार्य व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ। रोजगारदाताले आफूले काममा लगाएका श्रमिकको सञ्चयकोषबापतको रकम सञ्चयकोषमा, स्वीकृत अवकाश कोषमा वा आफैं छुट्टै खाता खोली जम्मा गर्नुपर्ने नियमावली उल्लेख छ। घरेलु कामदारलाई वर्षमा १२ दिन पारिश्रमिकसहित अनिवार्य विदा दिनुपर्ने व्यवस्था पनि नियमावलीले गरेको खबर आर्थिक अभियानमा छ।