पानवारी । सिंहवाहिनी मन्दिर धरान–१० मा आज बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ ।

महायज्ञको उद्घाटन गर्न नेपालकै प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । मन्दिरको भवन निर्माण तथा गौशाला निर्माण गर्न आर्थिक संकलन गर्ने उदेश्यले आयोजना हुने महायज्ञको कथा वाचन पण्डित योगशे भण्डारीले गर्ने जनाइएको छ । मन्दिर स्थापना भएको ५० औं वर्ष पुरा भएको स्वर्णउत्सवको अवसरमा आयोजना हुने पुराणको पहिलो दिन बुधबार कलश शोभा यात्रा, दोस्रो दिनदेखि नियमित मण्डप पूजाका साथ संगीतमय कथा प्रबचन एवं झाकी प्रदर्शन हुने मूल आयोजक समिति संयोजक मानमोहन श्रेष्ठले जानकारी दिएका छन् । त्यससँगै महायज्ञमा हरेक दिन बेलुकी विशेष आरती पूजा, ओमकार आरती र श्रृङ्गार आरती समेत गरिने जनाइएको छ । जेष्ठ ८ गते लाखबत्ति बाल्ने तथा ९ गते भागवतको कथासार, तिलाचन, पूर्णाहुतीका साथै प्रसाद वितरण गरिने संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

महायज्ञमा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ । धरान–१० स्थित पुतलीलाइनमा रहेको सिंहबाहिनी मन्दिर बजार क्षेत्रमा रहेको र बजारका भक्तजनहरुलाई पुजाआजा लगायत विभिन्न कर्महरु सम्पन्न गर्न नजिकै मन्दिर रहेकोले त्यसलाई व्यवस्थित गर्न आर्थिक संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गरेको मन्दिरका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिएका छन् । अधिकारीले महायज्ञमा सहयोग गरी मन्दिरलाई व्यस्थित गर्न धरानबासी सबैलाई अपिल समेत गरेका छन् ।