बेलबारी । बेलबारी नगरपालिकाले नगरको गतिविधि र सुचनामा एक रुपता ल्याउन र नागरिक समक्ष सूचना पु¥याउन मासिक रुपमा संचारकर्मी संग भेटघाट कार्यक्रम राख्ने भएको छ ।
नागरिकलाई सुचनाको पहँच सम्म पु¥याउन नगरपालिकाले संचारका माध्यम साथसाथै अरु सुचना पाटी लगायतका माध्यमहरु मार्फत नागरिकलाई सूचना प्रदान गर्ने योजना बनाएको छ । संचारकर्मी संगको पातलो भेटघाटले विभिन्न समस्या निम्त्याउने भएको कारण नगरपालिकाले मासिक भेटघाटको कार्यक्रम ल्याउन लागेको हो । हामीले शुरुमै पत्रकार संग भेटघाटको कार्यक्रम राख्नु नसकेकोमा कमजोरी महसुस पनि गरेको छ । शुक्रवार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि बोर्ड बैठकको निर्णय सार्वजानिक गर्दै ति योजना सार्वजानिक गरेका हुन् । नगरपालिकाले औपचारिक रुपमा यो पहिलो पटक पत्रकार सम्मेलन गरेको हो । नगरका प्रवक्ता योगेन्द्र सुवेदीले प्रत्येक महिना पत्रकार भेटघाट, सम्मेलन वा अन्तरक्रिया कार्यक्रम राख्ने सोही कार्यक्रम मार्फत नगरको गतिविधि र योजना सार्वजानिक गर्ने बताए ।
बेलबारी नगरपालिकाले शिक्षा , स्वास्थ्य, खानेपानी , सडक , विजुली, खेलकुद लगायतका सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा काम गरिरहेको प्रवक्ता सुवेदीले बताएका छन् । नगरपरिषद केहि ढिलो भएका कारण केहि योजनाहरु ढिला भएपनि सम्झौता भईसकेको योजनाहरु पुरा गर्ने बताईएको छ । नगरले यसैआर्थिक वर्षभित्र सम्झौता भएका १० किलो मीटर कालोपत्रे, १४ किलोमीटर सडक ग्रावेल गर्ने भएको छ । करिब ७० प्रतिशत सम्झौता भएका योजनाहरु सम्पन्न भएको प्रवक्ता सुवेदीले बताएका छन् । सामाजीक बिकास तर्फ ७ वटा योजनामा जम्मा ९ लाख २७ हजार ४ सय बजेट स्वीकृत गरेको छ । कला संस्कृति प्रबद्र्धनमा २ वटा योजनामा १ लाख ५० हजार बजेट स्वीकृत गरेको छ । त्यस्तै अनुसन्धान तथा परामार्श सिर्षकमा ८ लाख ७० हजार ९ सय १० स्वीकृत गरेको छ । त्यस्तै बालबालिका लक्षित विनियोजन १८ लाख, दलित वर्ग लक्षित ७ लाख, पिछडा वर्ग लक्षित ५ लाख विनियोजन गरिएको छ । त्यस्तै अपाङ्गता वर्ग लक्षित ७ लाख, जेष्ठ नागरिक लक्षित ७ लाख, महिला लक्षित १३ लाख बजेट विनियोजन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
साथै पछिल्लो पटक नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा प्रशंशनीय कार्य गरेको छ । नगरका गम्भीर प्रकृतिका रोगीहरुलाई जनही २५ हजारको दरले रकम प्रदान गर्ने निर्णय गरेको छ । जसमध्य १९ जनालाई रकम प्रदान गरिसकेको प्रवक्ता सुवेदीले बताएका छन् । साथै विरामीहरुलाई पहिले नै उपचार र औषधीको विल ल्याउने सर्तलाई पनि संशोधन गर्न लागेको सुवेदीले बताएका छन् । नगरले बजार अनुगमन , आर्थिक कार्यविधि,विपद व्यवस्थापन कोष लगायत १५ वटा कार्यविधिहरु कानुनको रुपमा स्वीकृत गरिसकेको छ । बेलबारीलाई थप विकासको गतिमा लान नगरले फोहोर व्यवस्थापन,सडकलाई ८२ फुट कायम गरि सडकका रुखहरु निकाल्ने लगायतको तयारी गरिरहेको छ ।