सिरहा/ आफ्नै श्रीमानको कुटाईबाट सिरहामा एक महिलाको ज्यान गाएको छ । गोलबजार नपा–७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् ।
मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपीट गरी बहोस भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।
गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक पटक कुटपीट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।
प्रभाको शव पोष्टमार्टमको लागि लगिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।
प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ ।