[caption id="attachment_81357" align="aligncenter" width="960"] तस्विर: उपेन्द्र चाम्लिङ[/caption]

पानवारी/ किरातीहरुको महान् चाड उभौली सोमबारदेखि सुरु भएको छ । बैशाखी पुर्णीमाको दिनदेखि सुरु हुने उभौली पर्व धरान–१४ स्थित हाङ बुद्धिकर्णको दरबार परिसरमा साकेला सिली नाचेर सुरु भएको छ । किरातीहरुको महान् चाडको रुपमा रहेको उभौली सुनसरीका विभिन्न स्थानमा साकेला सिली नाच्ने गरिन्छ । सुनसरीमा आयोजना हुने ‘साकेला सिली नाचहरु स्थानीय किरात राई यायोक्खाको प्रारम्भिक कार्य समितिले व्यवस्थापन गर्ने’ यस अघि यायोक्खा सुनसरीले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सोमबारदेखि सुरु भएको साकेला सिलि नाच सुनसरीका विभिन्न स्थान भएका साकेला पार्क तथा चौरमा जेष्ठ ५ गतेसम्म चल्नेछ । जेष्ठ ५ गते धरान–१७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगिताको रुपमा साकेला सिली प्रदर्शनी भएपछि साकेला नाच सम्पन्न हुने किराया सुनसरीले जनाएको छ ।

साकेला नाच्नु अघि किरात राईहरुले आफ्नो घरभित्र रहेको पवित्र चुला पुज्ने, पाकेको अन्नबालीहरु घरभित्र प्रवेश गराई पितृहरुलाई चढाउने र आफन्तजनहरु भेला भएर हर्षाेल्लासका साथ नयाँ बाली खाने परम्परा रहदै आएको छ । यसका साथै किरात राईहरुले उभौली लागेपछि बेसी झरेका चरा तथा माछाहरु लेक चढ्ने र बेसी गोठ झरेका किरातीहरु पनि आफ्ना बस्तुभाउ लिएर लेक चढ्ने समय भएकोले त्यस सयमलाई उभौलीका रुपमा मानेर आदीकालदेखि नै धुमधामसँग उभौलीको रुपमा मनाउदै आएका छन् ।

‘विशेष गरी उभौली अन्नबाली लगाउने समयमा अन्नबाली राम्रोस“ग सप्रियोस्, पानी परोस्, किरा फट्यांग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ ।’ किराया प्रारम्भिक कार्य समिति धरान–१३ का अध्यक्ष श्रीपाल राईले बताए । राईका अनुसार ‘तराई तिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।’

किरातीहरुको पुख्यौली भूमि भोजपुर, इलाम, धनकुटा, खोटाङ, संखुवासभा, उदयपुर र ओखलढुंगामा किराती धामीहरुले विधि पूर्वक पुजाआजा गरेर साकेला नाचिन्छ । साथै अहिले उक्त स्थानबाट बसाइ सरि आएको स्थान सुनसरी, मोरङ, झापा, सिराहा, ललितपुर, भक्तपुर र काठमाडौमा समेत भव्यताका साथ उभौली मनाउने गरिएको किराया सुनसरीले बताएको छ ।

उभौलीको पहिलो दिन किराती राजा हाङ बुद्धिकर्णको दरबारपरिसरमा उभौलीको पुजा गर्न धरानका करिब ४ सय किरातीहरु पुगेको किराया प्राकस धरान–१३ का अध्यक्ष श्रीपाल राईले बताए । आफ्नो जातिय पहिरन सहित विजयपुर पुगेका किरातीहरुले पूजा गरिसकेपछि थानकै वरिपरि सामूहिक रुपमा विभिन्न परम्परागत बाजा बजाएर साकेला सिली नाचेका थिए भने पहिलो दिन पूजा स्थलमा नाचीसके पछि भोलीदेखि भने फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

सिली नाच्नेहरु ५ वर्षको बच्चादेखि वृद्धसम्म रहेका थिए । उनीहरुले ढोल, झ्याम्टाको तालमा हातखुट्टाको चाल र हाउभाउ मिलाएर, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौँरीको पुच्छर, सिन्कौली सेउली हल्लाउ“दै, ढोल, झ्याम्टा बजाउ“दै नाचेका थिए । साकेला नाच्न विजयपुर पुगेका केन्द्रीय अध्यक्ष तिकल राईले उभौलीको अवसरमा शुभकामना समेत व्यक्त गरेका थिए ।