तरहरा । भारतबाट नेपालमा भन्सार छली ल्याएको ३४ लाख बराबरको कपडा आइतबार सुनसरी प्रहरीले बरामद गरेको छ । कोशी गाउँपालिका वडा नं. ५ जमुनाबाट कपडा र गाडी बरामद गरेको हो । डब्लु बी ७३ ई ३१९३ नम्बरको भारतीय गाडीमा भन्सार छली नेपाल ल्याएको कपडा जिल्ला प्रहरीका डिएसपी नारायणप्रसाद चिमरियाको नेतृत्व टोलीले बरामद गरेको हो । डिएसपी चिमरियाका अनुसार विशेष सूचनाका आधारमा बिहान पौन तिन बजे ३४ लाखको कपडा र दस लाख मूल्य पर्ने पिकअप भ्यान बरामद गरिएको हो । प्रहरीले भारत सिलगुढी देवीगञ्ज घर भएका ३८ बर्षीय मुकुल रायलाई पनि पक्राउ गरेको जनाएको छ । खुल्ला सीमनाका कारण सीमापारि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्रिने गरेको छ । गाडीसहित सामान र मानिसलाइ सेतु बन्दु भन्सार कोशि व्यारेज पठाइएको प्रहरीले जनाएको छ । व्यापारीहरुले सुनसरी क्षेत्रबाट कस्मेटिक , तयारी पोशाक, मल, किराना सामान, खाद्यान्न लगायतका सामान सीमापारिबाट नेपाल भित्रयाउने गरेका छन् । कृषि आइटमका समान भने पश्चिमको नारायणगढ सम्मका व्यापारीले भित्रयाउने गरेको गुनासो सुनिने गरेको छ । कतिपय कृषि आइटमका सामान काठमाडौ सम्म समेत व्यापारी मार्फत पुग्ने गरेको स्थानीयको दाबी छ ।