काठमाडौं प्रवेश गर्ने प्रमुख नाका त्रिभुवन राजपथमा बन्न लागेको नेपालकै पहिलो सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ एनके–इजेइसी–एनसीसी–जीइओसीइ–आइटीइसीओ जोइन्ट भेन्चरले संयुक्त रुपमा सुरुङ मार्गको डीपीआर तयार पारेका हुन् ।
‘नागडुङ्गा सुरुङ मार्गको डीपीआर निर्माण प्रक्रिया पूरा भइसकेको छ, ५ वटै कम्पनीले तयार पारेको डीपीआरलाई कम्पाइल (एकै ठाउँमा भेला पार्ने) काम गर्दै छौं,’ एनकेका इन्जिनियर रमेश कोइरालाले भने।
नागडुङ्गा सुरुङ मार्गको डीपीआर तयार पार्ने कम्पनीले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरुलाई डीपीआर प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सडक विभाग वैदेशिक महाशाखाका इन्जिनियर छवी पौडेले डीपीआर निर्माण गर्ने ठेकेदार कम्पनीले मंगलबार डीपीआर प्रस्तुत गर्ने जानकारी दिए ।
‘डीपीआर निर्माण गर्ने कम्पनीले डीपीआर तयार पारेको जानकारी दिएका छन्, मंगलबार डीपीआरको विषयमा कमेन्ट गर्नका लागि बोलाएका छन्,’ पौडेलले भने ।ठेकेदार कम्पनीले डीपीआर निर्माण गरिसके पनि अहिले नै उनीहरुले तयार पारेको डीपीआर अहिले नै पूर्ण भएको भएको बताउँन नसकिने पौडेल बताउँछन् ।‘ठेकेदार कम्पनीले डीपीआर प्रस्तुत गर्नेछ, त्यसमा सरकारी अधिकारीले कमेन्ट गर्नेछन्, सरकारी कमेन्टलाई सम्बोधन हुने किसिमले ठेकेदार कम्पनीले पुनःडीपीआर तयार गर्नेछन्,’ उनले भने ।
सरकारले जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहयोगमा नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि–सिस्ने खोलासम्म २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । सुरुङमार्ग बनाउन २२ अर्ब रुपैयाँ लाग्ने सडक विभागले अनुमान गरिएको छ। जसमध्ये १६ अर्ब रुपैयाँ जाइकाले सहुलियत ऋणमा उपलब्ध गराउने सम्झौता गरिसकेको छ । बाँकी अपुग ६ अर्ब रुपैयाँ सरकार वा वैदेशिक निकायबाट सहयोग लिन सकिने सडक विभागको भनाई छ ।
































