मोरङ/ ठुलो परिमाणको लागू औषध (मेडिकल ड्रग्स) सहित ओसारपसार आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर १९ स्थित घिनाघाट प्रहरी चौकीले चेकजाँचका क्रममा पल्सर मोटरसाइकलमा लुकाएर लैजादै गरेको ३४ सय २२ थान प्रोक्स्भिन ट्याब्लेट १ सय थान नाईट्रोसन ट्याब्लेट र २२ बोतल डायलक्स सिरप सहित दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान ८ घर भइ सुन्दरहरैचा ७ बस्दै आएका २८ वर्षीय शुक्रेबहादुर लिम्बु र धरान ८ का २६ वर्षीय सुभाष लिम्बु छन् । प्रहरीले उनीहरुले चलाएको को १३ प ३३९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

भारतीय बजार जोगबनीबाट खरिद गरेर लुकाईछिपाई नेपाल ल्याउँदै गरेको उक्त लागू औषध धरान र ईटहरी पुर्याएर महंगोमा बिक्रि गर्ने उनीहरुको योजना रहेको प्रहरीको भनाई छ । चेकजाँचबाट जोगिन लागू औषध ओसारपसार गर्नेहरुले सोझो राजमार्ग छाडेर बाइपास मार्गहरु प्रयोग गर्ने गरेका छन् ।

नयाँ पत्रिकाबाट