कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर हुँदै पाँच वर्षको जेल सजाय पाएका बलिवुड अभिनेता सलमान खानले जमानतका लागि अपिल गरेका छन् । तर सलमानको जमानत अपिलको सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा भएको छ ।

शुक्रबार राजस्थान उच्च अदालतको वेब साइटमा राखिएको सरुवा सूचनामा जोधपुरका डिस्ट्रिक्स एण्ड सेशन्स न्यायाधीश रवीन्द्र कुमार जोशीको सिरोहीमा सरुवा भएको छ ।

उनको ठाउँमा चन्द्र शेखर शर्मा आएका छन् । शुक्रबार सलमानको जमानत अपिलमा सुनुवाई पूरा हुन पाएको थिएन । जोधपुरका पत्रकार नारायण बारेठका अनुसार तल्लो अदालतमा रेकर्ड नभएका कारण सुनवाई शनिबारका लागि सारिएको हो ।

अब के हुन्छ ? कानुनका जानकारका अनुसार सरुवाको आदेशपछि शनिबार सलमानको जमानत अपिलमा सुनुवाई गर्ने नगर्ने कुरा न्यायाधीश रवीन्द्र कुमार जोशीमै निर्भर रहन्छ । राजस्थान उच्च अदालतको वेब साइटमा अप्रिल ६ मा राखिएको निर्देशन नम्बर २० मा कुल ८७ न्यायाधीशको सरुवा भएको छ । यसमा न्यायाधीश जोशीको नाम पनि छ ।

कालो हरिण काण्डमा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।