काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला केही गर्न खोजेजस्ता देखिन्छन् । उनले मुलुकको अर्थतन्त्रलाई उकासेर विकास गरी साँच्चिकै नेपाललाई सिंगापुर बनाउने मन्त्र लिएर आएजस्ता देखिन्छन् । बाहिरबाट यस्तै देखिन्छ ।
यसकै ट्रेलर स्वरुप ओलीले आइतबार सबै मन्त्री, सरकारी कार्यालयका सचिवलगायत कर्मचारीहरुसमेत भेला गरी खवरदारी गरेका छन् ।
ओलीले झुक्किएर कसैले देश र जनताका काम गर्न नखोज्ने हो भने तत्काल कार्वाही गर्ने चेतावनी दिए । सहभागी एक मन्त्रीले भने, ‘प्रधानमन्त्री ज्यूले हामीलाई सजग गराउनु भएको छ, यसले हामीलाई राम्रो मार्गनिर्देश गरेको छ, यो निर्देशन र चेतावनीले अब कर्मचारीहरुले काम नगरी बस्लान् भन्ने लाग्दैन ।’
ओलीले नयाँ जाँगर र उत्साह लिएर काम नगर्ने हो भने बिदा भए हुन्छ भन्ने निर्देशन दिएका थिए ।
ओलीले ‘जनताप्रतिको प्रतिवद्धता नदेखिने साथीहरु हुनुहुन्छ भने अब त्यसरी चल्दैन घर फर्किनु्स्’ भनेर आदेश दिएको पनि सहभागी मन्त्रीले बताए ।
ओलीले भ्रष्टाचार गर्नेलाई नछाड्ने चेतावनी पनि दिएका छन् । यदि आदेश लागेर हुने भए पहिलो पटक कुनै पनि प्रधानमन्त्रीले यसरी सामुहिक रुपमा राखेर कार्वाही गर्ने चेतावनी दिनुले त्रास छाएको छ ।
इमानदार हौसिएका छन् भने बेइमान गर्न बानी परेकाहरु हतोत्साही भएका छन् ।