काठमाडौं/ नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद सुरु भएको छ।
पार्टी महाधिवेशन भएको दुई वर्ष बित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पूर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप गर्ने विषयमा नेताहरु पक्ष र विपक्षमा विभाजित भएका हुन्।
सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा छन्। तर नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न राजी छैनन्।
नेतृत्व विकास हस्तान्तरणभन्दा गुटगत स्वार्थका आधारमा विधान संशोधन गरेर पदाधिकारी बढाउने खेल हुँदा कांग्रेसमा यो विषय पटक पटक बल्झिँदै आएको छ। त्यसकै परिणाम १३औं महाधिवेशनअघि पदाधिकारी थप्ने पक्ष्मा रहेका नेता पौडेल अहिले विपक्षमा उभिएका हुन्। १३औं महाधिवेशनका बेला पदाधिकारी थप गर्नै नदिने अडानमा रहेका देउवा अहिले पदाधिकारी थप्ने पक्षमा छन्।
नागरिक दैनिक
































