काठमाडौं/ मुलुकलाई लोडसेडिङमुक्त बनाउने उज्यालो नेपालका चर्चित नेता जनार्दन शर्माले मन्त्री बन्न अस्वीकार गरेका छन् । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको तर त्यसमा शर्माको नाम छैन ।
नेता जनार्दन शर्माले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने जानकारी पार्टीलाई गराएका थिए । त्यसपछि चन्द्रप्रकाश खनाल “बलदेव”लाई मन्त्री बनाइएको छ । जनार्दन शर्मा प्रभावकारी काम गर्नसक्ने नेता भएकाले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि उनलाई मन्त्री बनाउने चाहना व्यक्त गर्दै आएको बताइएको छ । तर, कामै नहुने मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री बनन्ने भन्दै शर्माले अस्वीकार गरेको बताइएको छ ।
जनयुद्धताका पनि निकै चर्चामा आएका जनार्दन शर्मा “प्रभाकर” ऊर्जामन्त्री भएका बेला लोडसेडिङको अन्धकारमा बसेर आजित भएका नेपालीलाई उज्यालो नेपाल दिएका थिए । तत्कालीन ऊर्जामन्त्री शर्मा र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले जनतालाई उज्यालो नेपाल दिएपछि उनी निकै लोकप्रिय बनेका थिए । माओवादी केन्द्रका नेताहरुमध्ये उनी एक्सनमा गएर छिटै परिणाम हात पार्नसक्ने हक्की नेताका रुपमा चिनिन्छन् ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा उर्जा तथा जलस्रोत मन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति बस्नेत वन मन्त्री र बीना मगर खानेपानी मन्त्रीको नाम रहेको छ । आज विस्तारित मन्त्रिमण्डलका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।