त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला एयरलाइन्सको उडान नं. बीएस २११ दुर्घटनामा मृत्यु हुनेको संख्याबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले फरक-फरक तथ्यांक पेश गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले दुर्घटनाको विषयमा सदनलाइ जानकारी गराएका थिए। उनले दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ रहेको उल्लेख गरे। तर सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव वाचन गर्दै दुर्घटनामा ५१ जनाको मृत्यु भएको जनाए।
गृह मन्त्रालयले फागुन २९ गते सुरुमा ५१ जनाको मृत्यु भएको प्रेस विज्ञप्ति जारी गरेको थियो पछि त्यसलाई सच्याउँदै ४९ जनाको मात्र मृत्यु भएको अर्को विज्ञप्ति निकालेको थियो।
घाइतेको उपचारमा कुनै कसर बाँकी राखेको छैनः ओली
संसदमा बोल्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा परेका घाइतेको उपचारमा कुनै कसर बाँकी नराखेको दाबी गरे। ‘दुर्घटनाको जानकारी हुनासाथ म आफैं एयरपोर्ट गएँ, गृहमन्त्री, उद्योग वाणिज्य मन्त्री लगायत अरु उच्च सरकारी अधिकारीसहित तत्काल घटनास्थल पुग्ने काम भयो, वस्तुस्थिति बुझ्ने र उद्धार र उपचारका काममा शीघ्रता ल्याउन निर्देशन दिने र आवश्यक कदम चाल्ने काम तत्काल भए’, उनले भने,‘म घाइते राखिएका हस्पिटल पनि पुगें, घाइतेलाई कुनै कमी नहुने गरी उपचार गर्न निर्देशन दिइसकेको छु।’
घटना अकल्पनीय र त्रासदिपूर्ण रहेको भन्दै ओलीले घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन आयोग बनेको र त्यसले चाँडै प्रतिवेदन बुझाउने बताए। ओलीले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे।
ओलीले बंगलादेशका नागरिक उड्डयनमन्त्रीले दुर्घटनामा घाइतेको उपचारका सम्बन्धमा पारस्परिक सहकार्यको प्रस्ताव राखेको जानकारी दिए। वंगलादेशका उड्डयनमन्त्रीको प्रस्ताव सकारात्मक भएको जवाफ दिँदै मानवीय प्रश्नमा सहकार्य गर्न सकिने जवाफ दिएको ओलीले बताए।
‘उहाँले पारस्परिक सहयोगका साथ काम गर्न सक्ने दृष्टिकोण राख्नुभयो र मैले उहाँहरुलाई हामी सकारात्मक भएको र मानवीय प्रश्नमा सहकार्य गर्न तत्पर भएको बताएँ’, उनले भने,‘सामाजिक सांस्कृतिक, मानवीय र भावनात्मक सम्बन्ध र तिनका सम्बन्धमा ध्यान दिएका छौं।’
ओलीले १७ जना अस्पतालमा उपचाररत रहेको र ३ जना स्वास्थ्य लाभ गरेर घर फर्किएको जानकारी दिए।
नेपालखबर