मुम्बई/ सुन्दर मोडल तथा नायिकाहरुलाई र्याम्प वाक गरिरहेको देख्नु कुनै नौलो कुरा रहेन। तर, भारतको ‘मायानगरी’ भनेर चिनिने मुम्बईमा भएको एक समारोहमा एसिड प्रहारको शिकार भएका महिलाहरु र्याम्पमा उत्रिएका छन्।
विश्व नारी दिवसको अवसरमा विवियाना मलमा भएको सो कार्यक्रममा एसिड प्रहारको शिकार भएका महिलाले आफ्नो कला देखाएका थिए। एसिड सर्भाइबर्स एन्ड वुमन वेलफेयर फाउन्डेसन (एसडब्लडब्लुएफ) ले आयोजना गरेको सो फरक प्रकृतिको कार्यक्रममा एसिड प्रहारको शिकार भएका महिला आत्मविश्वास र स्टाइलका साथ मात्रै र्याम्पमा चलेनन्, उनीहरुको जुझारुपनले कार्यक्रमममा उपस्थित अधिकांशको प्रशंसा बटुल्यो।
अत्याधिक मदिरा सेवन गर्ने पति, एकतर्फी प्रेमी र सासु–ससुराबाट एसिड प्रहारमा परेका महिलाको कथाले उपस्थित सबैको ध्यान तानेको थियो। र्याम्पमा उत्रिएका सबै महिलाले संघर्षको लडाइँ आफैं लडेका थिए र जिन्दगी वास्तवमै सुन्दर छ भन्ने देखाउन खोजेका थिए। उनीहरु आफ्नो जिन्दगीलाई सकारात्मक दिशामा लैजान प्रयासरत छन्। उनीहरुमध्ये कोही महिलाले व्यावसयिक तालिम लिइरहेका छन् भने कोही जागिरमा व्यस्त छन्। कोही भने सामाजिक अभियान्ताका रुपमा आफूजस्तै पीडितहरुको सेवामा लागेका छन्।
एसिड प्रहारको शिकार भएका र त्यसविरुद्ध लडेर आफ्नो जीवन बचाएकाहरुको व्यक्तित्व विकास तथा सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरिएको हो।
हरेक वर्ष जस्तै महिलासँग सम्बन्धित कुनै संवेदनशील विषयप्रति जागरुकता प्रदान गर्ने प्रयासस्वरुप कार्यक्रम गरिएको विवियाना मलकी वरिष्ठ उपाध्यक्ष रिमा प्रधानले बताइन्। ुमहिलाहरु सफलताको मार्गमा अगाडि बढुन् भन्ने हाम्रो चाहना हो,ु वरिष्ठ उपाध्यक्ष प्रधानले भनिन्,‘यो वर्ष त्यो साहस र जुझारुपनलाई देखेर हामी मोहित भएका छौं, जसलाई देशका विभिन्न स्थानमा भएका एसिड प्रहारका घटनामा शिकार भएका महिलाहरुले प्रस्तुत गरेका थिए।’
कार्यक्रममा उत्कृष्ट ठहरिएकी महिला लक्ष्मी अग्रवालले आफ्नो अनुभव सबै माझ राखेकी थिइन्। उनले भनिन्, ‘एसिड अट्याकको शिकार र यसबाट बाँचेकी एक महिलाका रुपमा सबै कुरा शून्यबाट सुरु गर्नु एक गम्भीर चुनौती थियो र छ पनि। यदि, तपाईंको शरीरको कुनै अंग भित्रैबाट जलिरहेको छ भने कुनै पनि चिजमा ध्यान एकाग्र गर्न मुस्किल हुन्छ। यो दागले हाम्रो समाजमा रहेको संकीर्ण सोचको याद दिलाउँछ। तर आशा छ कि, एक किरण छ जसले हामीलाई हर बिहान अगाडि बढ्न प्रेरित गर्छ।’